समाज

भेरी अस्पतालमा भूकम्पका ११ जना घाइतेको शल्यक्रिया

भूकम्पका घाइतेको भेरी अस्पताल नेपालगन्जमा शल्यक्रिया गरिँदै । नागरिक

भेरी अस्पताल नेपालगन्जमा उपचाररत भूकम्पका घाइते ११ जनाको शल्यक्रिया सम्पन्न भएको छ। भूकम्पका कारण घर भत्केर उनीहरूको हात, खुट्टा, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो।

भूकम्पमा परेका जाजरकोट र रुकुम(पश्चिम)का घाइतेलाई शनिवारबाट नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउन सुरु गरिएको हो। घाइतेको अवस्थालाई मध्यनजर गरेर पालैपालो शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ।

अहिलेसम्म घाइते ११ जनाको शल्यक्रिया गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। 

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले भूकम्पका घाइतेको शल्यक्रियालगायत उपचारमा कुनै कमी हुन नदिएको बताए। शल्यक्रिया गरिएका घाइते निको हुने क्रममा रहेको उनले सुनाए।

अस्पतालमा अहिलेसम्म ५७ जना घाइते उपचारका लागि आइसकेका छन्। तीमध्ये एक जना घाइतेको भेरी अस्पताल पुर्‍याउने क्रममा बाटोमा मृत्यु भएको थियो। अस्पतालमा भर्ना भएकामध्ये ३ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको श्रेष्ठले बताए। उनका अनुसार २ जना घाइतेको स्वास्थ्य अवस्था जटिल छ। 

भेरी अस्पतालका वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. प्रकाश थापाले घाइतेको शल्यक्रिया क्रमिक रूपले भइरहेको बताए । शल्यक्रिया गर्नुपर्ने प्रकृतिका बिरामीको अहिलेसम्म गरिसकेको उनले जनाए । शल्यक्रियामा डा. थापासहित अर्का वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. तिर्थेन्द्र खड्का लगायतको टिम खटिएको छ।

प्रकाशित: २३ कार्तिक २०८० ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App