समाज

पोखरा सभागृहचोकमा रहेको एटिएम फोड्ने पक्राउ

पोखरामा एटिएम फुटाएर चोरी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्। 

पोखरा महानगरपालिका–८ सभागृह चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतीय नागरिक बबी ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका ठाकुर भारत बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पंचायतग्राम ढांका बजार स्थायी घर भई हाल पोखरा–९ नयाँ बजारमा बबी ठाकुर सैलुनका सञ्चालक भएको वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र श्रेष्ठले जानकारी दिए। 

डिएसपी श्रेष्ठको कमाण्डमा खटेको गस्ती टोलीले ठाकुरलाई एटिएमको ढोकाको लक फोडेर भित्र पसी एटिएम मेसिन नै फोड्दै गरेको अवस्थामा ठाकुरलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। पैसा चोरी गर्ने उद्देश्यले एटिएम मेसिन फोरिरहेको अवस्थामा ठाकुरलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए। फलामको रडले एटिएम मेसिन फोडिरहेको थाहा पाएर हेर्न जाँदा प्रहरीलाई देखेर भाग्न खोज्दै गर्दा पक्राउ गरेको उनले बताए।

पक्राउ परेका ठाकुरको साथबाट एटिएम मेसिन फोर्न प्रयोग गरेको फलामको रड १ थान, पेचकस १ थान, कपाल काट्ने कैची र ढुंगा बरामद गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए। ठाकुरलाई चोरी उद्योग मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप गर्ने गरी अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: २२ कार्तिक २०८० ०९:१५ बुधबार

पोखरा एटिएम