समाज

चक्कु प्रहारबाट बाबु छोरा घाइते

बाबु छोरालाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले मोरङ बुढीगंगाका एक युवकलाई पक्राउ गरेको छ।

बुढीगंगा गाउँपालिका–५ का ४३ वर्षीय खरखन झा र उनका छोरा अमित झा चक्कु प्रहारबाट घाइते भएका छन्। उनीहरुको बुढीगंगास्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।

झा बाबुछोरालाई चक्कु प्रहार गरेको आरोपमा बुढीगंगा–५ का १८ वर्षीय पंकजकुमार शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शर्मा र अमितबीच लेनदेनमा विवाद भएको थियो। दुवै जनाबीच विवाद हुँदै गर्दा त्यहाँ पुगेका अमितका बुवा खरखन र अमितलाई शर्माले चक्कु प्रहार गरी घाइते बनाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानबाट लेनदेनमा विवाद भएपछि शर्माले बुवा छोरालाई चक्कु प्रहार गरेको खुलेको छ। एसपी पोखरेलका अनुसार अहिले कति रकममा विवाद भएको खुली नसकेको र थप अनुसन्धानबाट खुल्ने बताए।

शर्माले खरखनको कोखामा र अमितको ढाडमा चक्कु प्रहार गरी घाइते बनाएका थिए। बुवा खरखनको आइसियुमा उपचारपछि अवस्था समान्य हुँदै गएको छ। छोरा अमितको अवस्था समान्य भए पनि उनको अस्पतालमै उपचार भइरहेको एसपी पोखरेलले बताए।

घटनामा प्रयोग गरिएको चक्कु र शर्मालाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ। पक्राउ परेका शर्मालाई ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान भइरहेको एसपी पोखरेलले जानकारी दिए।

प्रकाशित: १३ कार्तिक २०८० १६:१० सोमबार