हनुमानढोका दरबारमा रहेको तलेजु भवानी मन्दिर सर्वसाधारका लागि आज खुला गरिएको छ। वर्षमा एक पटक महानवमीका दिन मात्रै खुल्ने तलेजु भवानीको मन्दिरमा भक्तजनको भिड लागेको छ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने हनुमानढोक दरबार हेरचाह अड्डाले जनाएको छ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले आइतवार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको थियो।
यस मन्दिरमा दर्शन गरे रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख–समृद्धि मिल्ने जनविश्वास छ। काठमाडौँ उपत्यकाका तीन सहरबाहेक नुवाकोट, काभ्रे, दोलखा, नालालगायतका स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ।
प्यागोडा शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्छन्। अड्डाका अनुसार नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लाइनदेखि अन्य व्यवस्थापन गरेका छन्।
यस्तो छ तलेजुको इतिहास
बाराको सिम्रौनगढबाट काठमाडौँ उपत्यकामा भित्रिएको तुलजा (तलेजु) भवानी मल्ल राजाहरूको कुलदेवता (इष्ट देवता) अहिले पनि मानिन्छ। राजा हरिसिंह देवकी रानी देवलदेवी दोलखामा कैद भइरहेकी थिइन्। त्यहाँबाट फुत्किएपछि भक्तपुरमा आई शरण मागिन्। त्यसैले रुद्र मल्लले रानी देवलदेवीलाई शरण दिई राजदरबार राखेका थिए भनी गोपाल वंशावली पूर्णिमामा ७ पृष्ठदेखि १४ पृष्ठसम्म उल्लेख गरिएको छ । तलेजु (तुलजा) देवता त उहिले लिच्छविकालदेखि मान्दै आएका थिए। लिच्छवि राजा वृषदेवले राजदेवी मानदेवले मानेश्वरी र मल्ल राजाहरूले इष्ट देवता स्वेष्ट देवता र साथै तलेजु भवानी नामकरण गरी यिनै राज्यका अधिष्ठात्री ईश्वरीलाई नै मानि आएका हुन्। श्री तलेजु भवानी शीर्षकमा तीर्थलाल नःघःमनीका अनुसार फर्पिङ, कीर्तिपुर, मकवानपुरको पालुङ, मध्यपुर थिमीलगायतका केही ठाउँमा तलेजु भवानीको मन्दिरहरू बनेका थिए। कीर्तिपुर सहरमा पनि राजदरबार र तलेजु देवल थिए। बडादसैँमा खड्ग जात्राको दिन कीर्तिपुरका प्रधानमन्त्रीहरू प्रत्येकले सिन्दुरको बट्टा (नेवारीमा सिव्हःमू) लिएर बाहिर निस्कन्थे। स्थानीय दर्शकहरूलाई टीका लगाउँदै आउथे।
मध्यपुर थिमीमा राजदरबार र तलेजु भवानीको मन्दिर थियो। र, वैशाख २ गते सालिन्दा यहाँ बालकुमारीको जात्रा लाग्छ। ललितपुरमा यक्ष मल्लपछि उपत्यकाका राज्य टुक्रिँदा त्यहाँका महापात्र पुरन्दर सिंहले ने.सं.७१७ (वि.सं.१६५४) मा राज्य गरेका थिए । तलेजु भवानी मन्दिर काठमाडौँ दरबार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो। मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको एकपटक दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरबार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारकहरू हुन्। तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घन्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप। सर्वसाधारणका लागि दसैँको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ। कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइयो। पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ। हरेक वर्षको दसैँमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ। नेपाल आर्मीको हेडक्वार्टरबाट मार हान्न केही सैनिक खटाइन्छन्। पहिले तलेजु मन्दिर प्रवेश गर्ने चारवटा गेट थिए।
ती चारै दिशाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउने व्यवस्था थियो, जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा, उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउथे। देवीदेवता तथा कुमारीलाई पनि पश्चिमकै गेटबाट प्रवेश गराइन्थ्यो। सन् १९९० को भुइँचालोपछि भने अरू सबै गेट बन्द गरेर एउटै मात्र गेट खुलाइयो।
तुलजा भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पुज्ने गरिएको छ। तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा–अर्चना गरिन्छ। तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ। तुलजा भवानीको पूजा–अर्चना नेपाल, भारतलगायत तिब्बतमा पनि गरिन्छ। नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने व्यक्ति कर्णाटवंशी राजा हरिहरसिंह देव हुन्।
उनी सिम्रौनगढका राजा थिए। मल्ल राजाहरूले यो मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए। तीन तलाको हनुमानढोकास्थित तलेजु मन्दिर एक सय दुई फिट अग्लो छ। सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ। नवमीका दिन मूलचोकबाट भवानीलाई फेरि मन्दिरमा फिर्ता लगिन्छ र दिनभर पूजा–अर्चना गरी सर्वसाधारणका लागि खुल्ला गरिन्छ। सर्वसाधारणका लागि तलेजु मन्दिर वर्षमा एकपटक खुला गरिए पनि यहाँ दिनहुँ पूजाआजा भने भइरहेको हुन्छ। बिहान साढे ८ बजेतिर मन्दिर छिर्ने पुजारी साढे १० बजेसम्म पूजाआजामै व्यस्त हुन्छन्। तलेजु मन्दिरका अनुसार एउटा पूजा गर्न कम्तीमा आठजना मानिस संलग्न हुन्छन्। त्यहाँ हरेक बेलुका आरती हुन्छ। मुख्य मन्दिर (देवीको मूर्ति राखिएको ठाउँ) मा तीनवटा थर भएका व्यक्तिले मात्र प्रवेश गर्न पाउँछन्, कर्माचार्य, जोशी र राजवंशी।
त्यसबाहेक राजभण्डारी, प्रधान, सुवाल, सिं, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन तथा परियारले मन्दिर परिसरमा प्रवेश गर्न पाउँछन्। थरअनुसार नै उनीहरूको कामको प्रकृति तोकिएको हुन्छ जस्तो नगरा बजाउने, घन्टा बजाउने, भुजा पकाउने, लिपपोत गर्ने, पानी ल्याउने, कुमारीलाई भोग चढाउने आदि चलन छ। यो मन्दिरमा मल्ल तथा शाह राजाहरूले विभिन्न पर्वको परम्परा बसाएका थिए।
यो तलेजु मन्दिरमा प्रत्येक वर्ष ७५ वटा ठूला तथा २४ वटा साना पर्व मनाउने गरिएको छ। रोचक त के भने एउटा पर्वमा ४२ जना मानिस, त्यसमा पनि १६ जातका मानिस अनिवार्य चाहिन्छ। तलेजु मन्दिरमा सबैले पूजा गर्न पाउँदैनन्। राणाकाल र त्यसअघि राजपरिवारका सदस्यहरूले मात्र पूजा गर्ने अवसर पाएका थिए। त्यहाँ पूजा गर्न विधि–विधान पुर्याउनुपर्छ। त्यसका लागि ज्योतिषकहाँ गएर तिथिमिति हेराएर, शुभसाइत र शुभमिति जुराउनुपर्छ। त्यसपछि पुजारीले मन्त्र दान गर्छन् अनि मात्र पूजा गर्न पाइन्छ।
राणाकालमा जंगबहादुर राणाबाहेक अरू कसैले यो मन्दिरमा पूजा गर्ने आँट गरेनन् । ‘किन सर्वसाधारणका लागि यो मन्दिर सँधै खुला हुँदैन ? छोपेको चिजलाई छोप्नैपर्छ, सधैंभरि देख्न पाए त्यसको महत्व हुँदैन। भगवान पनि अदृश्य नै राम्रा’ मन्दिरका पुजारी उद्धवले भने ।
हनुमानढोका क्षेत्रमा तलेजु मन्दिर सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको अग्लो मन्दिर हो।
प्रकाशित: ६ कार्तिक २०८० ०१:१८ सोमबार