समाज

गाउँमा बढ्न थाल्यो चहलपहल

नेपालीहरुको महान चाड दसैँ आगनमै आएसंगै गाउँघरमा चहलपहल सुरु भएको छ। अहिले जुम्लाको सदरमुकाममा खलंगाबाट आ-आफ्नो घर फर्किनेहरु बढ्न थालेका छन्।

जुम्लाको तिला गाउँपालिका - १ रारा गाउँमा रहेको पुर्ख्यौली घर फर्कन गाडी कुरिरहेकी विमला रावत भन्छिन्, ‘एक वर्षपछि परिवार भेट्न जान लागेको खुसी छु। साथीहरु पनि भेटिन्छ।’

त्यस्तै, दैलेख घर भएकी धना रावल भन्छिन्, ‘आफ्नै गाउँको चलनअनुसार दसैं मनाउन गाउँ जान लागेको हुँ।’ जुम्ला बसपार्कमा बिहानदेखि साँझसम्मै घर फर्कनेको घुइँचो लाग्ने गरेको छ। दसैंमा घर फर्कनेको संख्या बढेसँगै सवारी साधनको चाप बढेको छ। दसैंमा घर जान लागेका कतिपय भने टिकट नपाएको गुनासो गरेका छन्।

दसैं पर्व नजिकिँदै गर्दा जुम्ला बजार,नराकोट,गोठिज्युला,नाग्म लगायतका बजार क्षेत्रमा किनमेल गर्ने सर्वसाधारणको चहलपह बढेको छ।

दसैं तिहार लगायत चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय जुम्लाले विशेष सुरक्षा योजना लागु गरेको छ। २ सय ३० जना प्रहरी परिचालन गरिएको छ। शान्ति सुरक्षा कायम गर्न तथा सम्भावीत अपराध, विकृती, दुर्घटना न्युनीकरण, अनुसन्धान र कारबाहीका लागि विशेष सुरक्षा योजना लागु गरिएको प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यमबहादुर बुढामगरले बताए। 

प्रहरीले बजार क्षेत्रमा २४ सै घण्टा गस्ति गर्ने छ। जुवातास खेल्ने खेलाउने कार्य नियन्त्रणका लागि विशेष अप्रेशन गर्ने र मादक पदार्थ सेवन गरि होहल्ला गर्ने र अपराध गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने प्रहरीले चेतावनी दिएको छ।  

प्रकाशित: ४ कार्तिक २०८० ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App