समाज

दमौलीमा लामखुट्टे ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान

तनहुँ सदरमुकाम दमौली क्षेत्रमा डेंगी नियन्त्रणका लागि चलाइएको लामखुट्टेको सर्च एण्ड डिस्ट्रोय अभियान। तस्बिरः नागरिक

डेंगी संक्रमण बढेपछि तनहुँमा लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान तिब्र पारिएको छ। तनहुँ सदरमुकाम दमौलीको ब्यास नगरपालिका क्षेत्रमा पछिल्लो समय डेंगीले त्रसित पारेको छ। यो वर्ष तनहुँमा डेंगीले ३ जनाको ज्यान पनि गईसकेको छ। तनहुँमा मात्र यो वर्ष डेंगीका २२ सय १० जना बिरामी परेका छन्। संक्रमण अझै घटेको छैन। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार दिनमा कम्तिमा एकसय जना डेंगीका बिरामी थपिने गरेका छन्। ‘बिरामी संख्या अझै घटिसकेको छैन,’ अधिकारीले भने, ‘अहिले आक्रामक रुपमा सर्च एण्ड डिस्ट्रोय अभियान चलाइएको छ। तरपनि संक्रमण कमजोर बनिसकेको छैन।’ डेंगीका अधिकांश बिरामी सदरमुकाम दमौली बजारभित्रका बासिन्दा रहेको उनले बताए।  

अधिकारीका अनुसार भदौ २५ पछि निकै नै डेंगी संक्रमण बढेको हो। भदौ २५ अघिको तुलनामा त्यसपछि दिनहुँ थपिने संक्रमितको संख्या बढिरहेको अधिकारीले बताए। खुला क्षेत्रको सरसफाई गरेर डेंगी फैलाउने लामखुट्टे नियन्त्रण सम्भव नभएपछि घरघरमा लामखुट्टे ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियान चलाएको उनले बताए। डेंगी फैलाउने लामखुट्टे खोज्ने क्रममा सरसफाई अभियान चलाउँदा अहिले बजार नै सफा बनिसकेको उनले बताए।

‘नगरपालिका, स्थानीय प्रशासन, रेडक्रस, स्वास्थ्य, विद्यालय, सुरक्षाकर्मी विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय सहित सबै निकाय यो बेला परिचालन गरेर सरसफाई अभियान संचालन गर्ने र लामखुट्टेको लार्भा नियन्त्रण अभियान चलाईरहेका छौं,’ उनले भने, ‘डेंगी नियन्त्रणको एकमात्र विकल्प भनेको लामखुट्टे नियन्त्रण हो। त्यसका लागि टिम नै परिचालन भईरहेको छ।’  

अहिले डेंगी फैलिएको ब्यासको १ नम्बर भादगाउँ हो। त्यस्तै २, ३ र ४ नम्बर वडा सदरमुकाम दमौलीको मुख्य बजार क्षेत्र पर्छ। नगरपालिकाभित्रै ग्रामिण क्षेत्रमा भने संक्रमण कम रहेको उनले बताए। सदरमुकाम क्षेत्रभित्र ग्यारेज, कार्यालय, व्यावसायिक क्षेत्र, गाडी पार्किङ रहेकोले पनि संक्रमण बढी फैलिएको उनले बताए। ‘पानी जम्नेगरि ठाउँठाउँमा ट्यांकी राखिएको थियो। टायर, ग्यारेज पनि उत्तिकै छरपष्ट थिए,’ उनले भने, ‘बेलैमा व्यवस्थापन गर्न नसक्दो यो अवस्था अहिले आएको हो।’

सदरमुकाम दमौलीको ब्यास नगरपालिका अहिले सबैभन्दा बढी डेंगीबाट प्रभावित भएको छ। ब्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार लामखुट्टे खोज र नष्ट अभियान अन्तर्गत ब्यास नगरपालिकाका १४ वटा वडाका २६ वटा स्वास्थ्य संस्थामार्फत जनचेतनाका कार्यक्रम संचालन गरिएको उनले बताए।

‘सबैभन्दा बढी प्रभावित भएका ब्यास नगरपालिकाका १ देखि ४ सम्मका वडा हुन्। ती वडा बजार क्षेत्रमा पर्छन। अहिले वृहत रुपमा नगरभित्र डेंगी फैलाउने लामखुट्टे खोज र नष्ट अभियान चलाइएको छ,’ सोतीले भने, ‘भएभरको शक्ति लगाएर नियन्त्रण प्रयास छ।’

त्यसबाहेक बिरामीको संख्या बढेर जनशक्तिको अभावमा उपचारमा समस्या भएपछि नगरपालिकाका पाँचजना स्वास्थ्यकर्मीलाई पनि जिल्ला अस्पतालमा खटाइएको उनले बताए। गण्डकी प्रदेश सरकारबाट पनि थप जनशक्ति आएको सोतीले बताए।

‘बिरामी भएको व्यक्तिको घरघरमै पुगेर समेत सरसफाई अभियान समेत चलाएका छौ,’ सोतीले भने, ‘बिरामीको अवस्था पनि घरघरमै पुगेर थाहा पाउने प्रयास भईरहेको छ। बिरामीको अवस्थाबारे पनि जानकारी लिईरहेका छौ। पछिल्लो समय होम भिजिट बढेको छ,’ उनले भने। विद्यालयमा पनि जनचेतनको काम चलाईरहेको उनले बताए। ‘धेरै नै प्रयास गर्दा पनि संक्रमण कमजोर हुन सकेको छैन,’ उनले भने, ‘भरभरको बल लगाएका छौ। तर, डेंगी बढेको बढ्यै छ।’  

प्रकाशित: १२ आश्विन २०८० ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App