समाज

खेल ‘करिअर’ लाई अगाडी बढाउन प्रहरीमा जागिर

सुस्मालाई दर्ज्यानी चिन्ह लगाइदिँदै उनका बुवा र आमा। तस्बिर: अर्जुन ओली/नागरिक

ब्याडमिन्टनको राष्ट्रिय खेलाडी हुन्, सुस्मा श्रेष्ठ। उनले हालै जवान पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरिन्। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत, हाल नेपालगन्जबाट आइतबार सुस्मा दीक्षित भएकी छिन्।

प्रहरी सेवामा प्रवेश गर्दा बेग्लै खालको अनुभूति मिलेको उनले बताइन्।  ‘हामीले ९ महिनासम्म गरेको तालिमलाई प्रदर्शन गर्न पायौं, यसपछि हामी आ–आफ्नो कार्यक्षेत्रमा खटिएर काम गर्नेछौं,’ सुस्माले नागरिकसँग भनिन् ‘प्रहरी संगठन के हो ? प्रहरी जीवन के हो ? प्रहरी र जनताबीचको भिन्नता लगायत धेरै कुराहरु सिक्न पायौं।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर खेलाडीका रुपमा देशलाई चिनाउने उनको सपना थियो। तर, उनले अन्ततः प्रहरीको जागिर रोज्न बाध्य भइन्। परिवारको आर्थिक अवस्था पनि मुख्य कारण हो। विपन्न परिवारकी सुस्मा जागिर बिना खेल करिअरलाई अगाडी बढाउन असम्भव देखेपछि प्रहरी संगठन रोज्नु परेको बताउँछिन्।

‘म राष्ट्रिय खेलाडी हुँ, तर परिस्थितिले मैले नेपाल प्रहरीको पेशा रोजे,’ सुस्माले थपिन् ‘खेल करिअरलाई अगाडी बढाउनकै लागि मैले नेपाल प्रहरीको सेवामा प्रवेश गरेकी हुँ।’

इटहरीमा सम्पन्न राष्ट्रिय स्तरको प्रतियोगितामा ब्याडमिन्टनबाट उनी तेस्रो भएकी थिइन्। यस्तै २०७९ मा पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन्।

‘ब्याडमिन्टन खेलमा मेरो राम्रै छ, म राष्ट्रिय प्रतियोगितासम्म पुगे,’ सुस्माले भनिन् ‘मलाई अझै पनि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेल्ने धोको छ, त्यही धोको पुरा गर्नका लागि मैले प्रहरी सेवा रोजे।’

खेल क्षेत्रमा अगाडी बढ्न आफ्नो खुट्टामा उभिनु अनिवार्य भएकाले प्रहरी जवानबाट जागिर सुरु गरेको उनले सुनाइन्। सुस्माले थपिन्, ‘खेल खेलेर मात्रै खेलाडी बाँच्न गाह्रो छ, बरु प्रहरीमा जागिरसँगै खेल क्षेत्रलाई अगाडी बढाउन सक्छु भन्ने मेरो सोच छ।’

छोरी सुस्मा प्रहरी सेवामा प्रवेश गर्दा उनको परिवार पनि हर्षित भएको छ। प्रहरी तालिम केन्द्र परिसरमा आइतबार दीक्षान्त समारोह चल्दै गर्दा परिवारका सदस्यहरु छोरीलाई आर्शिवाद दिन पुगेका थिए। त्यस क्रममा बुवा सुरेश श्रेष्ठ र आमा शान्ति श्रेष्ठले छोरी सुस्मालाई प्रहरी जवानको दर्ज्यानी चिन्ह लगाइदिएका थिए।

छोरी प्रहरी सेवामा लाग्दा आफूलाई गर्वको अनुभूति भएको बुवा सुरेशले प्रतिक्रिया दिए। ‘छोरी प्रहरी सेवामा लाग्दा म आफैलाई गर्वको अनुभूति भएको छ, देशको लागि केही गर्छु भनेर छोरी प्रहरी सेवामा प्रवेश गरेकी छन्, भोलीको दिनमा छोरीका कारण मेरो शिर माथि हुनेछ,’ उनले भने।

यस्तै आमा शान्ति पनि आफ्नी छोरी प्रहरी सेवामा लाग्दा खुसी छिन्। उनी भन्छिन्, ‘छोरी खेलकुदमा जान पाएको भए अझै खुसी हुन्थे, झन् गर्व गर्न पाउँथे, तैपनि मन खुसी छ, प्रहरीमा जागिर खाए पनि उसले चाहेको खेल क्षेत्रलाई अगाडी बढाउन पाओस् मेरो यही अपेक्षा छ।’

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत, हाल नेपालगन्जबाट आइतबार सुस्मासहित ३ सय जना जवान दीक्षित भए। कार्यक्रमका प्रमुख अतिथि एवम् कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख (डिआइजी) भिमप्रसाद ढकालले आधारभूत तालिम प्राप्त प्रहरी जवानलाई दीक्षित गरेका थिए। नेपालगन्जमा प्रहरी जवान आधारभूत तालिम ९–१३९ औं समूह २०७९ कात्तिक २० गते देखी सुरु भएको थियो।

तालिम केन्द्रका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौरले तालिम लिएका सबै दीक्षित भएसँगै प्रहरी जवानको दर्जा पाएको बताए।

‘यिनीहरु सबै अब प्रहरी जवान भईसके, सोही अनुसार कार्यक्षेत्रमा प्रवेश भएका छन्, सबैको दरबन्दी अनुसार रमाना भयो,’ उनले भने। तालिम अवधिभर उनीहरुलाई अपराध अनुसन्धान, पुलिस कार्य, भिड नियन्त्रण, भिआइपी सुरक्षा, जंगल वारफेर, व्यवस्थापन, अन्य अतिथि व्यवस्थापन, विपद् व्यवस्थापन, मानव अधिकार लगायत विभिन्न कुरा सिकाइएको तालिम केन्द्रका समादेशक समेत रहेका एसएसपी राठौरले बताए।

प्रकाशित: ७ आश्विन २०८० १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App