समाज

सागवालीको समृद्धि सोपान

मिहिनेत गरे के फल्दैन ? मरुभूमिमा फूल लहराउँछन् र बालुवामा फल फल्छन् । मिहिनेत गर्नेको जीवन लहराउँछ । उनी यस्तै पात्र हुन्, जसले पसिना बगाएर जिन्दगी फुलाएकी छिन् । सूर्यविनायक २ की ५० वर्षिया अनिता सामा श्रेष्ठको जिन्दगीमा सागबारीमा बगाएको पसिनाले सिञ्चित भएर उज्यालो भविष्य फुल्न लागेको छ ।  

२६ वर्ष पहिला बालकोटमा सामान्य नेवार परिवारमा उनको विवाह भयो । यसैबिचमा दुई छोरा जन्मे । उनका पति मिस्त्री काम गर्थे, उनी अरूको सानो जमिनमा साग खेती गर्थिन् । यो कमाइले परिवारको खर्च धान्न मुस्किल थियो । परिवारको यात्रा चल्दै थियो । यसबिचमा पति–पत्नी मिलेर केही आफ्नो कमाइ, धेरै सहकारीबाट ऋण जम्मा गरी एक तले घर बनाए । यसैबिचमा ११ वर्ष पहिला उनका पतिको उच्च रक्तचापका कारण असामयिक निधन भयो । जतिबेला जेठो छोराले भर्खरै एसएलसी उत्तिर्ण गरेका थिए, कान्छो छोरा ६ कक्षामा पढ्दै थिए ।  

पतिको निधनपछि अनितालाई पतिवियोग मात्र परेन, परिवारको दैनिक खर्च, घर बनाउँदा लागेको सहकारीको १२ लाख ऋण, दुई छोराको पढाइ खर्च जुटाउनुपर्ने जिम्मेवारी सँगै थपियो । जिम्मेवारीका अघि पतिवियोग छायामा पर्न थाल्यो । उनका अघि पतिको शोकभन्दा बलियो गरी भोक उभिएको थियो । उनले पतिवियोगलाई मनभित्रै लुकाएर दुई सन्तानमा सपना बुन्न थालिन् । पतिले सहकारीबाट ऋण लिएर घर बनाएकोबारेमा उनलाई पूरा थाहा थिएन । 

पतिको मृत्युलगत्तै सहकारीले पैसा माग्न थाल्यो । उनीसँग ऋण तिर्ने कुनै उपाय थिएन । छिमेकीले भाडामा दिएको सानो जग्गामा साग उमार्नु र घरमै आएका व्यापारीलाई साग बिक्री गर्नुबाहेक अरू उपाय थिएन । बाह्र लाख ऋणमाथि साना छोराहरूको शिक्षा, दैनिक खर्चको जिम्मेवारीले उनलाई शिर ठाडो हुनै दिएन । पतिको मृत्युको केही वर्ष निकै कष्टपूर्वक बिते । ती दिन सम्झँदा अनिताको मन अहिले पनि घरी घरी भत्किन्छ । 

अनिता धेरै कमाएर उठेकी होइनन्, कमाएको पैसा बचत गर्ने कलाले उठेकी हुन् । उनलाई काम र पैसाका बिचको सम्बन्धको यथार्थ थाहा छ । उनले भनिन्, ‘कामको सुख हुनेलाई पैसाको दुःख हुन्छ, पैसाको दुःख हुनेलाई कामकोे सुख हुन्छ ।’

चाडबाड आउँथ्योे, आफन्तहरू भरिला भएर हिँड्थे । उनका लागि सबैतिर अँध्यारो छाएको थियो । ‘जेठाजु, जेठानी भरिभराउ भएर हिँड्थे । मेरा छोराछोरीले न मिठो खान पाउँथे, न राम्रो लगाउन,’ अनिता पुराना दिन सम्झँदै भक्कानिइन् । यी सबै दुःखलाई दुई छोराको भविष्यले जित्थ्यो र दुःखलाई साथी बनाउँथिन् । ‘छोराहरूले पढेपछि एक दिन सुखका दिन आउँछन् भन्ने कुरा मात्र मनमा आउँथ्यो । अरू सबै कुरा बिर्सिन्थें,’ उनले भनिन् ।  

माइतीमा खान–लाउन पुग्ने परिवारमै हुर्केकी हुन् अनिता । यतिको दुःखको पहिरो न भोगेकी थिइन्, न सोचेकी थिइन् । परेपछि दुःखले नै धेरै कुरा सिकाउँदै गयो । उनले त्यही सागखेतीलाई बढाएर पैसा कमाउने सोच बनाइन् । सबेरै उठेर छोराहरूलाई खाना पकाई खुवाएपछि स्कुल पठाउँथिन् । त्यसपछि उनका दिन खेतबारीमा बित्न थाल्थे । छिमेकी महिलाले एक रोपनी जग्गा भाडामा दिइन् । त्यही जग्गा अनिताका लागि मुख्य आधार बन्दै गयो । सागसँगै मौसमी तरकारी रोप्न थालिन् । धेरै कम्पोस्ट मल, थोरै रासायनिक मल हालेर खेती गर्दा बजारमा भेटिने सागभन्दा उनको साग र तरकारी अर्गानिक देखिन्थ्यो । उनले अरूका भन्दा केही महँगो मूल्यमा साग बेच्थिन् । उनको साग चिन्नेहरू महँगो मूल्य तिरेरै भए पनि किन्थे । यो क्रम अहिले पनि चलिरहेको छ ।  

११ वर्षको अवधिमा उनले सहकारीको ऋण तिरिन् । जेठो छोरालाई स्नातक पढाइन् । कान्छो छोराले व्यवस्थापनमा स्नातक तहको अध्ययन गर्दै छन् । पैसाको कमीका कारण जेठो छोराले स्नातकोत्तर तहको पढाइ निरन्तर दिन नसकेको उनले बताइन् । ‘पैसा जम्मा गरेपछि फेरि पढाइ पूरा गर्ने हो,’ उनले भनिन् ।  

यही अवधिमा उनले घरको तला थपिन् । ऋणमा बनेको घरको जग कमजोर भएको जानकारी पाएपछि उनले गत वर्ष अर्को एक तले घर बनाइन् । साग–तरकारी बेचेर कमाएको आम्दानी र केही सहकारीको ऋणबाट उनको घर बनेको हो । अनिताको सागखेतीको दैनिकी बीस वर्ष पुगिसकेको छ । तर उनी यो पेसाबाट थाकेकी छैनन् । उनको जाँगर कुनै युवाको भन्दा कम छैन । कान्छो छोराले खाना पकाउँछन्, उनी बिहान पाँच बजे उठेर बारीमा पुग्छिन् । 

मल, बीउको जोहो, गोडमेल गर्छिन् । कुनै न कुनै साग या तरकारी बारीमा हुन्छ । खाना खाएपछि उनी बारीमै पुग्छिन् । साग र तरकारी टिपेर डोकाभरि जम्मा गर्छिन् । दिउँसो चार बजे बालकोट चोकमा पुग्छिन् र बाटोमा बेच्न बस्छिन् । ग्राहकसँग मुस्काउँछिन् । आफूले भनेकै भाउमा दिए मात्र बिक्री गर्छिन् । भाउ नपाएमा घरै फिर्ता लैजान्छिन् ।  

सागखेतीमा गोबरमल धेरै र कम मात्र रासायनिक मल प्रयोग गरेका कारण उनको तरकारी स्वादिलो भएको बताउँछिन् । तरकारी स्वादिलो र अर्गानिक भएकैले कौशलटारदेखि तीन जना बैंकका कर्मचारी नियमित घरैमा आएर साताभरिका लागि साग किनेर लाने गर्छन् । उनको मासिक आम्दानी ३० देखि ३५ हजार हुन्छ ।  

साग बेचेर फर्केपछि खाना खान्छिन् । थकाइ लागेको हुन्छ, एक डेढ घण्टा मोबाइलमा टेलिचलचित्र हेर्छिन् । त्यसपछि भुसुक्कै निदाउँछिन् । उनको यस्तो दैनिकीले उनलाई उमेर बितेको पत्तो छैन । उनले सागबारीसँग सपना बुन्न छोडेकी छैनन् । छोराले पैसा कमाउन थाले पनि उनले हात बिसाएकी छैनन् । दुवै छोराको पढाइ पूरा गर्ने र दुवैको विवाह गरेपछि मात्र यो पेसाबाट विश्राम लिने उनको सोच छ । ‘पछि छोरा–बुहारी अफिस जान्छन् । मैले नाति–नातिना हेर्छु । त्यतिबेला मात्र सागखेतीको काम छोड्छु,’ उनले भनिन् । अनिता धेरै कमाएर उठेकी होइनन्, कमाएको पैसा बचत गर्ने कलाले उठेकी हुन् । उनलाई काम र पैसाका बिचको सम्बन्धको यथार्थ थाहा छ । उनले भनिन्, ‘कामको सुख हुनेलाई पैसाको दुःख हुन्छ, पैसाको दुःख हुनेलाई कामकोे सुख हुन्छ ।’  

प्रकाशित: ६ आश्विन २०८० ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App