आर्थिक मन्दीको प्रभाव विश्वभर देखिएको छ। सन् २००८ पछि देखिएको आर्थिक मन्दीको मारमा सारा संसार छन्। आर्थिक संकटका कारण नेपालसहित विश्व व्यापारव्यावसाय नै धरासायी बन्दै गएको छ। जसको सबैभन्दा ठूलो प्रभाव दैनिक मजदुरी गर्नेदेखि मालिकसम्मलाई परेको छ। दैनिक ज्यालादारी काम गरेर जीविको चलाउने वर्गलाई आर्थिक मन्दीले सबैभन्दा बढी र नराम्रोसँग प्रभावित बनाएको छ। जसको एउटा उदाहरण हो, बाँकेको डुडुवा गाउँपालिका। डुडुवा गाउँपालिका–६,हिर्मिनियास्थित महानपुरुवाका ६५ वर्षीय तैयब अलि शेष, चरम गरिबीका कारण पाँच जनाको परिवारलाई पाल्न सकिरहेका छैनन्। एकसाता भयो, उनी र उनका परिवारले पेटभरी खाना खान पाएका छैनन्।
यो परिवार कुनै दिन भोकै बस्न बाध्य छ भने कुनै दिन एक छाक मात्र खाएर जीवन निर्वाह गरिरहेको छ। तैयबको प्रमुख आयस्रोत भनेकै गाउँमा नल्का निर्माण गर्ने र बिग्रिएको बेला मर्मत गर्नु हो। जसबाट आएको पैसाले उनी घर खर्च चलाउँथे। तर, पछिल्लो समय गाउँमा काम पाउन छाडेको छ। अर्थात् उनको आम्दानीको स्रोत ठप्प छ। ‘पाँच/सात दिनदेखि राम्रोसँग भोको पेट भर्न पाएको छैन,’ उनले भने, ‘काम नपाउँदा परिवार पाल्नै समस्या भइरहेको छ।’ सम्पत्तिको नाममा खरले बारेको झुपडी छ। झुपडी भएको जग्गा पनि उनको होइन। यही झुपडीमा भोकै बस्न बाध्य छु।’ ‘कतिबेला जग्गावाला आएर उठिबास लगाउँछ थाहा छैन,’ उनी भन्छन्, ‘जग्गावालाले उठायो भने कहाँ गएर बस्ने।’
करिब १५ वर्ष अघि तैयब गाउँमा हली काम गर्थे। जसबाट उनलाई मासिक तीन सय रुपैयाँ आउथ्यो। त्यही पैसाबाट उनले परिवारको खर्च जोहो गरे। पछि परिवार बढ्दै गयो खर्च पनि ह्वात्तै बढ्यो। अर्काेतिर उनी बिरामी हुँदै गए भने पछिल्लो समय उमेरले पनि तीन बिसै पाँच वर्ष पुगे। ‘महँगी बढ्दो छ। आम्दानी घट्दो छ,’ उनी भन्छन्, ‘महिनामा एक/दुई दिन मात्र काम पाइन्छ। जसबाट आएको पैसाले खानै पुग्दैन।’ महिनामा दुई नल्का जडानको काम पाउँदा उनलाई झन्डै तीन/चार हजार फाइदा हुन्छ। तर, त्यो पैसाले महिनाभरि पाँचजनाको पेट भरिँदैन। महँगीले पनि उनी चपेटामा परेका छन्।
गरिबीकै कारण उनको छोरी रुखसराले बीचमै पढाइ छोड्नु पर्यो। १५ वर्षीया रुखसराले ४ कक्षासम्म मात्र पढेकी छिन्। जेठ छोरा हसान पढाइ छाडेर घर खर्च चलाउन १०/१५ दिन अघिमात्र भारतको मुम्बइमा कामको खोजी गर्न गएका छन्। अर्का छोरा १९ वर्षीय साहिद जेनतेन कक्षा १० सम्म पुगेका छन्। पढाइ राम्रो हुँदाहुँदै पनि उनी विद्यालय नियमित जान सकेका छैनन्। ‘हप्तामा तीन/चार दिन विद्यालय जान्छुँ,’ उनले भने, ‘दुई/तीन दिन काम गर्छु।’ कुनै दिन काम पाइने र कुनै दिन काम नपाइने भन्दै उनले भने, ‘आर्थिक अभावले गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गर्न पाएको छैन। आवश्यक पाठ्यसामग्री खरिद र शैक्षिक क्रियाकलाप गर्न पाएको छैन।’ ‘राम्रोसँग अध्ययन गर्न नपाउँदा भविष्यको चिन्ता छ,’ उनले भने।
उमेर ढल्किँदै जाँदा र बिरामी हुँदा तैयब काम खोज्न जान सक्ने अवस्थामा पनि छैनन्। ‘बजारमा काम खोज्दै जान सक्दैन। गाउँघरमा काम पाइन छाड्यो,’ तैयब भन्छन्, ‘घरमा अन्नपानी नहुँदा पल्लो गाउँबाट सहयोग मागेर ल्याउँछु। कुनै दिन भोकै बस्छौं।’ पसलबाट उदारोमा ल्याएको सामानको पैसा तिर्न नसक्दा थप उदारो ल्याउन समस्या भएको उनी बताउँछन्।
जग्गा जमिन नहुँदा र नियमित काम नपाउँदा तैयबलाई घर परिवार चलाउन मुस्किल भएको छिमेकी काशिराम यादवले जनाए। ‘विचरा ! काम नपाउँदा समस्यामा छ,’ उनले भने, ‘सहयोग पनि कति दिनसम्म गर्ने।’ अर्का छिमेकी देवनारायणले पनि तैयबको अवस्था कमजोर भएको बताए। यस्ता अति विपन्न परिवारका सदस्यलाई सरकारले उचित संरक्षण गर्नुपर्ने उनको भनाइ छ। तैयबको परिवार पहिलादेखिनै गरिबीको रेखामुनि छ।
प्रकाशित: २२ भाद्र २०८० ०४:५४ शुक्रबार