समाज

बाढीसँगै बग्यो तीजको उल्लास

बर्दिया- दैलेखको वडाभैरवबाट दस वर्षअघि गुलरिया नगरपालिका-२ संगमबस्ती विवाह बन्धनमा बाधिँदा ३२ वर्षीया गंगा विश्वकर्मा कम्ता खुसी थिइनन्। एक दशकभित्रमा दुई छोरा जन्मदा परिवारको खुसी झनै थपिएको थियो। छोरा हुर्कँदै गर्दा परिवार छुटकाइलो र सुखी थियो। थोरै भए पनि आफ्नै जग्गामा परिश्रम खर्चिदा खान, लाउन दुःख थिएन।

बर्षमा दिन आउँने तीज उनको विशेष पर्व बन्थ्यो। माइती टाढा भएकाले बर्षको एकपटक माइती जान तीज पर्व माध्यम थियो। तीज आउन दुईचार दिनअघि नयाँ कपडा लगाएर दुई छोरासँगै माइती गाउँ वडाभैरव पुग्दा अर्के आनन्द अनुभूत गर्थिन्। माइतीघरमा एक साता बितेको उनलाई पत्तै हुन्थेन।

 तर, त्यस्ता दिन अब विकको  सम्झनामा मात्र सीमित भएको छ। 'म तीजमा जहिले पनि माइती गाउँ जान्थें, गीत गाएर रमाउथें, संयुक्त परिवारमा बस्ने हुनाले घरबाट सजिलै विदा पाउँथे,' उनले सम्भि्कँदै भनिन्, 'तर यसपालीको तीजमा त बबई बाढीले सर्वस्व बगाएर लैजादाँ खानाको जोहो गर्न गाह्रो छ।'

 तीजको खुसी साट्ने यतिबेला विक परिवारको आँखामा आँसु मात्र छ। उनीजस्तै पाँच नगरपालिकाको दर्जनौ गाउँका महिलाको आसुसँगै तीज बगेको छ। हाँस्न नसक्ने अवस्थामा पुगेका महिला दिदीबहिनी तीज पर्व खल्लो भएको छ।  छेउछाउँका गाउँका महिला नयाँ कपडामा सजिएर ओहोरदोहर गर्दा गुलरियाको बाढीग्रस्त क्षेत्र यतिबेला स्तब्ध छ। रमाइलो गर्नेबेला महिला दिदीबहिनी   साँझ र बिहान हातमुख जोर्न पर्खाइमा राहत कुरेर बस्नुपर्ने भएको छ। 'यतिबेला त म दैलखमा हुन्थे,' विकले विगत सम्भि्कइन्। न उनलाई अहिले तीजको सुर्ता छ।  उनीसँग माइतीघर गएर रमाउँने योजना छ। बाढी पसेर घर फोहर भएपछि खन्डहर बनेको घर सम्हाल्न थालेकी उनको गहभरी आँसु भरिएको देखिन्छ।

घरमा खान भनेर राखेको चामल, गहँु पोखिएर उमि्रएका टुसा पलाएको अन्नका गेडा उखेल्दै गरेकी  उनको मन खिन्न देखिन्थ्यो ।

धान रोपाइँ सकिएसँगै खानको लागि खाद्यान्न जोहो गरेर उनको अब ठिक्क फुर्सदमा बेला थियो। तर, बिपत्ती आएपछि भोको पेटमा विगतको तीज सम्झनुपर्ने बाध्यता छ।

 शनिबार राति बबईमा आएको बाढीले साचेर राखेको अन्न र रोपाइँ गरिएको धान बालुवा ल्याएर छोप्दा संगमबस्ती पीडामा छ। ‘महिलाको ठूलो चाड तीज धुमाधामका साथ मनाउँने योजना बाढीसँगसँगै बग्यो,’ उनले भनिन्। ‘घरमा भएको अन्नपात बगायो, भत्केको घर मात्रैले खान पुग्दैन, तीज आएर के गर्ने?’ उनले दुखेसो गरिन्। स्थायी बसोबास गर्ने योजनाले घरलाई थप मजबुत बनाउन विक परिवारको इँटाको गारो लगाएर घरमा खर्च गरेको  थियो। बाढीले घर भत्काइदिँदा समस्या भएको छ।

‘बबईको बाढीले भत्काएको घर ढल्न मात्र बाँकी छ, अरु सबै बगाया,े’ उनले भनिन्। शनिबार आएको बाढीले गुलरिया–२ मा पर्ने संगमबस्तीमा बढी क्षति भएको छ। छ सय घरधुरी बसोबास रहेको बस्तीका एक सय घर पूर्णरूपमा क्षति भएको छ। उक्त बस्तीका २० घर बाढीले बगाएको छ। साउन अन्तिममा बबईमा आएको बाढीले पाँच हजार घर क्षति पुर्‍याएको तथ्याकं छ। एक लाख घरधुरी प्रभावित भएका छन्।

तीजले छपक्कै छोप्न थालेको अधिकांश बस्तीमा अहिले सन्नाटा छाएको छ। तीजको रौनकमा बाढी बिनाशलिलाले निराशा ल्याएको छ।

 महिला दिदी बहिनी आँखामा टलपल झरिरहेको आँसु देखिन्छ। उनीहरू बोल्न सक्दैनन्। कोही नयाँ मानिस देखियो भने  खुर्रखुर्र दौडेर आइहाल्छन्। बबई विनाशलिलाको कहानी बताउन थाल्छन्। उनीहरूमा तीजको कुनै मतलव छैन। बबई बाढीले विनाशलिला मच्चाएको गाउँ भनेर उक्त बस्ती परिचित छ। यस्तो स्थितमा गुजि्रएको पूरै बस्तीमा कसैको मुख हाँसो देखिँदैन।

‘बाढी आउनु अघिल्लो दिनसम्म तीजको रौनक गाउँमा छाइसकेको थियो,’ स्थानीय कपील शर्माले भने, 'अधिकांश घर भत्काएको छ। खेत बालुवाले पुरेको छ।'

 उनीहरू बाढी नियन्त्रणका लागि सरकारले दिर्घकालीन योजना ल्याउनुपर्ने सरकारसँग आग्रह गर्छन्। बिस्थापित परिवारलाई उचित क्षतिपूर्तिसहितको राहतका दिनुपर्ने बाढीपिडितको माग छ। सरकारले यहाँका बाढीपडितलाई यथेष्ट सहयोग नगर्ने हो कि भन्नेमा उनीहरू चिन्तित छन्।

प्रकाशित: ८ भाद्र २०७४ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App