समाज

घरमाथि ढुंगा खस्यो, तीन छोराछोरीको मृत्यु

कालिकोट- सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिवन काब्रागाउँस्थित बुँदे सार्कीको घरमाथिबाट ठूलो ढुंगा खस्दा दुई छोरी र एक छोरा गरी तीनको मृत्यु भएको छ। आइतबार मध्यराति परेको मुसलधारे पानीपछि खसेको ढुंगाले थिचिएर बुँदेकी १३ वर्षीया छोरी ललिता, ९ वर्षीय छोरा लंक र ५ वर्षीया छोरी कल्पनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ढंगाले पुरिएका तीनवटै शव सोमबार नेपाली सेना र प्रहरीले निकालेका छन्। 

बुँदे सार्की र उनकी श्रीमती बेलु सार्कीले छोराछोरीलाई उठाउँदा—उठाउँदै माथिबाट झरेको ढुंगाले थिचेको स्थानीय जक्ती सार्कीले बताए । बुँदेकी घाइते श्रीमती बेलुका अनुसार  मध्यराति सुतेका बेला आकाश खसेजस्तै भयो। अचानक खसेको ढुंगाल थिचेपछि घर ढलेर पुरेको थियो। 'छोराछोरीलाई ब्यूँझाउँदा ब्यूँझाउँदै पहिरोले थिचिहाल्यो, भाग्न त खोजेका थियौं तर, सकिएन,' उनले भनिन्, 'दैवले छोराछोरीले लग्यो। श्रीमान्को अहिलेसम्म होस छैन।' गम्भीर घाइते बुँदे, उनकी श्रीमती बेलु, छोरी रंगीता र शर्मिलाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ। डा. कौशल अलीका अनुसार बुँदेको अवस्था गम्भीर  छ।

बुँदेको घरमा बस्न आएकी छिमेकी बिर्खे सार्कीको छोरी अस्मिता सार्की पनि घाइते भएकी छन्। प्रत्यक्षदर्शी लालवीरे सार्कीका अनुसार १२ बजे मुसलधारे पानी आइरहेका बेला एक्कासि चट्टान खसेजस्तै आवाज आएको थियो। त्यसपछि गाउँले उठेर बाहिर निस्केका थिए। 'हेर्दाहेर्दै बुँदेको घर ढुंगाले थिच्यो। पानी परिरहेका वेला गाउँले उद्धारमा जुटे पनि केटाकेटीलाई बचाउन सकिएन,' उनले भने।  घाइतेलाई चार घन्टापछि रास्कोटको एक मेडिकलमा पुर्‍याएर  एक दिन पछिमात्र जिल्ला अस्पताल लगिएको थियो। ढुंगाले घर पुरिँदा थप कति सम्पत्ति क्षति भयो भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

ढुंगाले च्यापिएर घाइते भएका बुँदे, उनकी श्रीमती बेलु र छिमेकी शर्मिलासहित ५ जनालाई पिठ्युँमा बोकेर रास्कोट लगिएको स्थानीय मंगल सार्कीले बताए।  सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बुँदे र उनको परिवारका घाइतेलाई उपचार खर्च व्यवस्था गर्ने बताए।  थप राहतका लागि जिल्ला प्रशासनसँग पहल गर्ने उनको भनाइ छ।

काब्रागाउँको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ। उक्त बस्ती अन्यत्र सार्नुपर्ने स्थानीयको माग छ।

प्रकाशित: १७ श्रावण २०७४ ०२:४० मंगलबार

घरमाथि ढुंगा खस्यो छोराछोरीको मृत्यु