समाज

बाहिरी चक्रपथको संशोधित डिपिआर मन्त्रालयमा

काठमाडौं-काठमाडौं उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथको संसोधित विस्तृत परियोजना रिपोर्ट (डिपिआर) सहरी विकास मन्त्रालयमा पेश गरेको छ। प्राधिकरणले बाहिरी चक्रपथले ओगट्ने क्षेत्रफल, चार किल्ला खुलेको नक्सालगायत आर्थिक तथा प्राविधिक विषय खुलाएर मंगलबार डिपिआर पेश गरेको हो।

यसअघि माघमा पठाएको डिपीआर स्पष्ट नभएको भन्दै मन्त्रालयले फिर्ता पठाएको थियो । बाहिरी चक्रपथ क्षेत्रको पुनः अध्ययन गरेर डिपिआर मन्त्रालय पठाएको प्राधिकरणले जनाएको छ ।

‘यसअघि पठाएको डिपिआरमा मन्त्रालयले स्पष्ट पार्न निर्देशन आएको थियो । त्यसैले अहिले मन्त्रालयले माग गरेका कागजात तथा नक्सा उपलब्ध गराएर फेरि मन्त्रालयमा पठाएका छौं,’ बाहिरी चक्रपथ आयोजना शाखा अधिकृत ध्रुव प्रसाद सापकोटाले भने, ‘अब सम्भवत् मन्त्रालयबाट डिपिआर  पारित भएर छिट्टै काम अघि बढ्नेछ ।’ 

प्राधिकरणले सहरी विकास मन्त्रालयमा पठाएको स्पष्टीकरण पत्रमा चक्रपथ बनाउँदा जग्गा एकीकरणमार्फत नै गरिने छ । जसमा सर्वसाधारणको ३५ प्रतिशत जग्गा चक्रपथ क्षेत्रमा सडक तथा अन्य पूर्वाधारमा लाग्ने छ । ६५ प्रतिशत जग्गा व्यवस्थित सहरीकरण गरेर जनतामा फिर्ता गरिने छ ।

आयोजना प्रमुख दीपक श्रेष्ठका अनुसार बाहिरी चक्रपथ क्षेत्रमा ‘ल्यान्ड पुलिङ’ (जग्गा एकीकरण) गरेर बनाइँदै छ । बाहिरी चक्रपथ क्षेत्रका साढे दुई सय मिटर सडक अस्थायी रूपमा प्राधिकरणलाई दिनुपर्ने छ।  ‘सम्पूर्ण जग्गाको एकीकरण गरेर बस्ती बसाल्नेछौं । जसले स्थानीय विस्थापित हुनुपर्ने समस्या आउँदैन,’ श्रेष्ठले भने, ‘आयोजनाले घर, बाटो, ढल, खानेपानी बिजुली र खुला क्षेत्रको डिजाइन गरेर जग्गा स्थानीयलाई नै हस्तान्तरण गर्नेछ ।’ जग्गा एकीकरण गर्दा जग्गाधनी विस्थापित पनि हुन नपर्ने र सरकारले पनि मुआब्जा दिनु नपर्ने भएकाले  चक्रपथ विस्तारमा समस्या नआउने उनको भनाइ छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली २०६८ को नियम १३ मा उल्लेख भएअनुसार न्यूनतम क्षेत्रफल भएको दुई आना दुई पैसा क्षेत्रफल भन्दा कम जग्गामा भएको क्षेत्रफलमा घर बनाउन नपाइने भएकाले त्यस्ता जग्गा हुने घरधनीले बिक्री प्लटबाट सस्तो मूल्यमा जग्गा खरिद गर्न वा चलनचल्तीको मूल्य अनुसार नै बिक्री गर्न पाउने प्रावधान राखिएको छ ।

बाहिरी चक्रपथ आयोजनाका अनुसार सतुंगलदेखि चोभारसम्मको ६.६ किलोमिटर क्षेत्रमा १३ हजार ७ सय ६४ जग्गाधनी छन् । बाहिरी चक्रपथ आयोजनाले चक्रपथको सात खण्ड गरेर डिपिआर तयार गरिरहेको जनाएको छ । डिपिआर सहरी तथा विकास मन्त्रालयमा पठाए पनि अझै स्वीकृति नभएको आयोजना प्रमुख श्रेष्ठले बताए । ‘डिपिआर स्वीकृतिका लागि मन्त्रालयमा पठाएका छौं । तर, अहिलेसम्म के कारणले रोकियो थाहा छैन,’ उनले भने, ‘मन्त्रालयले स्वीकृति दिनेबित्तिकै काम अघि बढाउनेछौं ।’

अझै बनेन बाहिरी चक्रपथ

सरकारले डेढ दशकपहिले परिकल्पना गरेको बाहिरी चक्रपथ बन्ने अझै कुनै सुरसार छैन । राष्ट्रिय गौरवको आयोजना भन्दै २०६० मा बाहिरी चक्रपथको कल्पना गरिएको थियो । तर, विस्तृत परियोजना रिपोर्ट (डिपिआर) बन्नुबाहेक अरु काम कागजमै सीमित छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले १४ वर्षदेखि डिपिआरबाहेक अन्य केही भौतिक पूर्वाधार निर्माण गर्न सकेको छैन । सहरी विकास मन्त्रालय पूर्वसचिव किशोर थापा बाहिरी चक्रपथ राजनीतिक खिचातानी र सरकारी उदासीनताले बन्न नसकेको बताउँछन् । ‘सरकारले बाहिरी चक्रपथलाई जति महŒव दिनुपथ्र्यो, त्यति दिएन । त्यसैले निर्माणमा ढिलाइ भएको छ,’ उनले भने, ‘कर्मचारीतन्त्रले मात्रै चासो दिएर बनाउन सकिँदो रहेनछ ।’ तत्कालीन सरकारले महŒवाकांक्षी योजनासहित काठमाडौंको बढ्दो सहरीकरण र सवारी चापलाई ध्यान दिँदै उक्त योजना ल्याइएको हो । ‘बाहिरी चक्रपथले गाउँ र सहरभित्र पुलको काम गर्नेछ,’ आयुक्त डा. भाइकाजी तिवारीले भने, ‘ उपत्यकाभित्र मात्रै होइन, तराईसँग जोड्ने फास्ट ट्र्याक जोडेर यातायातलाई सहज बन्नेछ ।’ ७१.९३ किलोमिटरको बाहिरी चक्रपथ काठमाडौंमा ३५.०८, ललितपुरमा १५.८०  र भक्तपुरमा २१.०५ किमी क्षेत्रमा फैलनेछ । सडकको चौडाइ ५० मिटर हुनेछ।

प्रकाशित: ३० चैत्र २०७३ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App