समाज

इच्छाकामनाको आन्तरिक आम्दानी २ करोड नाघ्यो

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको आन्तरिक आम्दानी घट्ने देखिएको छ। 

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ४ करोड ६८ लाख ३ हजार ८४३ रुपैयाँ आन्तरिक आम्दानी गरेको इच्छाकामना गाउँपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २ करोड ८ लाख ५० हजार रुपैयाँ गरेको छ।

अघिल्लो आर्थिक वर्षको भन्दा करिब २ करोड ५९ लाख रुपैयाँ आन्तरिक आम्दानी घटेको देखिन्छ। तर, यसलाई अहिले नै घटेको भन्न नमिल्ने आर्थिक प्रशासन शाखा प्रमुख उद्गम तिमिल्सिनाले बताए।

‘अहिले हेर्दा त्यस्तो देखिएको हो। तर, विगतमा तथ्यांक राख्दा बाह्य आम्दानी पनि जोडेर राखेको देखिन्छ,’ उनले भने ‘राजश्व संकलनको दुई महिनाको अवधि कायमै छ।’

इच्छाकामनाको आन्तरिक आम्दानीमा पर्यटन रहेको छ। मनकामना केबलकारबाट गाउँपालिकाले ६२ लाख ६३ हजार १५७ रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै लामो झरनाबाट २१ लख ५० हजार, उपरदाङगढीबाट ३ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको कार्यालयको तथ्यांकमा उल्लेख देखिन्छ। 

गाउँपालिकाले ढुंगा गिट्टी बालुवा, घरबहाल, मालपोत लगायतका करबाट १ करोड ९६ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष ढुंगा गिट्टी बालुवाबाट ७८ लाख १ हजार आम्दानी गरेको गाउँपालिकाले मालपोतबाट ७६ लाख २२ हजार रुपैयाँ गरेको थियो।

गाउँपालिकाले लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। ७ करोड ३२ लाख ७३ हजार १२० रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको गाउँपालिकाले ५ करोड २२ लाख ६२ हजार रुपैयाँ मात्रै संकलन गरेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए। तर, देशकै आर्थिक गिरावटको असर इच्छाकामना गाउँपालिकामा पनि परेको देखिन्छ।

इच्छाकामना गाउँपालिकाको आम्दानी पर्यटन तर्फ लम्किँदै गएको छ। यसलाई सुधार गर्दै अगाडि बढ्ने अध्यक्ष गुरुङ बताउँछन्। यस गाउँपालिकामा उपरदाङगढी, लामो झरना, सिराइँचुली, इच्छाकामना मन्दिर, केवलकार लगायतका पर्यटकीय स्थलहरु छन्। यहाँबाट सुर्यदयदेखि सूर्यअस्तसम्म देख्न सकिन्छ।

इच्छकामना गाउँपालिकाको आम्दानीमा जिल्ला समन्वय समितिले पनि दिने गरेको छ। अघिल्लो आर्थिक वर्ष १ करोड १४ लाख २५ हजार रुपैयाँ जिविसले विनियोजन गरेको थियो। अहिले पनि त्यहाँबाट आउने हुँदा लक्ष्यलाई पूर्ति गर्न सकिने आर्थिक प्रशासन शाखा प्रमुख तिमिल्सिना बताउँछन्। 

इच्छाकामना गाउँपालिकाले वित्तीय प्रगति ५९ प्रतिशत भएको छ। चालु आर्थिक वर्षको १० महिनामा ४ करोड ३२ लाख रुपैयाँ बजारको खर्च भएको उनले बताए। चालु खर्च ६६ दशमलव ३८ र पुँजीगत खर्च ४९ दशमलव ८४ प्रतिशत रहेको छ।

प्रकाशित: ९ जेष्ठ २०८० १४:५९ मंगलबार