समाज

सडकमा बिस्कुन सुकाउन गाउँपालिकाले लगायाे प्रतिबन्ध

सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोमिख बढेकाले झापा गाउँपालिकाले प्रतिबन्ध लगाएको छ। कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका मकै, धान, गहुँ लगायतका सामग्री सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर प्रतिबन्ध लगाएको हो।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शुक्रबार सूचना नै जारी गरेर मुख्य तथा भित्री सडकमा जथाभावी बिस्कुन नसुकाउन आग्रह गरेका हुन्। सूचनामा भनिएको छ, ‘कृषिजन्य उपजका बिस्कुन सुकाइएका कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको, आवतजावतमा कठिनाइ भएको तथा दुर्घटनाको जोखिम बढेकाले सो कार्य नगर्न र नगराउन सूचित गरिन्छ।’

उनले सूचनाको अवज्ञा गरी बिस्कुन सुकाएमा सडकमा हुने दुर्घटनाजन्य घटनाको जिम्मेवार स्वयं सुकाउने व्यक्ति नै हुनुपर्ने बताए।

विशेष गरी पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका सामग्री विगत लामो समयदेखि सडकमा सुकाउने गरेको पाइन्छ। कचनकवल, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका लगायतका भित्री सडकमा बिस्कुन सुकाइन्छ।

प्रकाशित: ६ जेष्ठ २०८० ०७:२६ शनिबार

सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोमिख कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडक