समाज

सूचनाको महत्वलाई अझै बुझ्न सकिएको छैनः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्वलाई अझै बुझ्न नसकिएको बताएका छन्।

शुक्रबार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभामुख घिमिरेले  सूचनाको महत्वलाई उजागर गरी आम नागरिकका सूचनाको अधिकार प्राप्त हुनुपर्ने बताए। उनले सूचनाको हक सबैले पाउनुपर्ने कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउने कुरामा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने उल्लेख गरे।

उनले सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभाकारी रुपमा कार्यान्वयन हुने बताए। उनले सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण भएकाले सम्बन्धित निकायबाट पाउने सेवा, सुविधाको सूचना समाजमा बिस्तार गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘हाम्रो देशमा पनि अहिलेको लोकतन्त्र र गणतन्त्र उपभोग गर्ने सन्दर्भमा संविधान निर्माण गर्नुभन्दा केही अघिदेखि सूचनाको हकलाई स्थापित गरेका छौँ। मौलिक हकको रुपमा राख्याँै, यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा राष्ट्रिय सूचना आयोगको गठन गरेका छौँ, त्यसले निरन्तर काम गरिरहेको छ। यसको महत्वलाई आत्मसाथ गर्नेकुरामा केही अभाव छ। आजको १६ औं स्थापना दिवसले यसको महत्वलाई उजागर गर्ने, यसलाई व्यवहारमा कार्यान्वयन गर्ने र जति प्रभावकारी बनाउने महत्वलाई लिन सकियो उति लोकतन्त्र र प्रजातन्त्रलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ। त्यस अर्थमा सूचनाको हकलाई बुझ्न सकौँ। जनतामा अहिले पनि सूचनाको महत्व र खासगरी हामी लामो समयसम्म प्रजातान्त्रिक अधिकारबाट वञ्चित भएको परिवेशबाट होला, कुनैपनि कुराको जानकारी राख्ने अधिकार र हक हो, त्यसको सहयोग र बिरोध गर्नेकुरामा चेतनाको अभाव छ। सार्वजनिक गरिएका कुराहरुको आम सरोकारको विषय भएर बुझ्ने त्यसमा हक स्थापित गर्नेकुराको अभाव छ। सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण हो।’

सभामुख घिमिरेले सार्वजनिक गरिएका विषयहरुको सूचना नागरिकस्तरमा बिस्तार गर्न आवश्यक रहेको र जनताको सूचना पाउने हकको सुनिश्चित हुनुपर्ने बताए।  

प्रकाशित: २२ वैशाख २०८० ०७:३५ शुक्रबार

देवराज घिमिरे