समाज

पुरानो स्वस्थानी पुस्तकको पूजामात्रै

काठमाडौं- पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रत र कथा वाचनको अन्तिम साता सालीनदीमा भक्तजनको घुइँचो बढेको छ। शनिबार मात्रै तीन लाख व्रतालुले माधवनारायण मन्दिर दर्शन गरेको साँखुस्थित श्री माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले जनाएको छ।

'अन्तिम हप्ता नै दर्शनार्थीको अति चाप हुने गर्छ,' समिति अध्यक्ष राजुभाइ मानन्धरले भने। उनका अनुसार यस वर्ष २० लाख दर्शनार्थीले सालीनदी दर्शन गर्ने अनुमान गरिएको छ। अहिलेसम्म १४ देखि १५ लाख दर्शनार्थीले सालीनदी दर्शन गरिसकेको समितिले जनाएको छ।

'पढ्न सक्ने मान्छे नहुँदा चार सय वर्ष पुरानो हस्तलिखित स्वस्थानी कथाको पुस्तकलाई पूजा मात्र गरेर राख्नुपरेको छ र प्रचलित लिपि भएकाले जोसुकैले कथा पढ्न सक्दैन'

विभिन्न मनोकामना राखी सालीनदीमा भक्तजनले व्रत बस्ने गर्छन्। यस वर्ष सालीनदीमा एक सय ९१ व्रतालु रहेको समितिले जनाएको छ। व्रत बस्नेमा १५ पुरुष र एक सय ७६ महिला छन्। व्रतालुले एक महिना व्रत अवधिमा साँखुको बज्रयोगिनी, पशुपति, फर्पिङको शेषनारायण, पनौतीको त्रिवेणीघाट, भक्तपुरको चाँगुनारायण लगायत शक्तिपीठको पनि पैदलयात्रा गरी दर्शन गर्छन्। पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी पूजा तथा व्रतकथा आगामी माघ २८ गते माघ शुक्ल पूर्णिमा दिन समापन हुनेछ।

माधवनारायणको पूजा

स्वस्थानीको व्रत राख्ने एक महिनाभरिका लागि मात्र माधवनारायणको मन्दिर सालीनदी क्षेत्रमा स्थापित गरिने परम्परा रहेको समिति अध्यक्ष मानन्धरले बताए। 'माधव नारायणलाई पूजा गर्न पाउने यही एक महिना मात्र हो। वर्षभरि माधवनारायणको मन्दिर पूजारीको घरमै हुन्छ,' उनले भने।

स्वस्थानी व्रत बस्ने महिनाभरि माघस्नान पनि हुन्छ। स्वस्थानी व्रत कथाअनुसार सत्ययुगमा पार्वतीले सालीनदी किनारमा स्वस्थानीको कठोर व्रत बसेर महादेव पति पाएकी थिइन्। त्यसैले विवाहित नेपाली हिन्दू महिला पतिको सुस्वास्थ्य र दीर्घायुका लागि र अविवाहित महिला योग्य पति प्राप्तिको मनोकामना राख्दै स्वस्थानीको व्रत बस्ने चलन रहेको छ। 

पुरानो पुस्तक पढ्न सक्ने व्यक्ति भएनन्

पुरानो लिपि पढ्न सक्ने मानिस नहुँदा सालीनदीमा स्वस्थानी व्रत कथावाचन रोकिएको छ। प्रचलित लिपिमा लेखिएको र यो लिपि पढ्न सक्ने मानिस नहुँदा ०७० सालयता कथावाचन रोकिएको समितिले जनाएको छ।

व्रत अवसरमा एक महिनासम्म सालीनदीमा व्रतालु र दर्शनार्थीका लागि स्वस्थानी कथा सुनाउने परम्परा थियो। 'पढ्ने मान्छे नहुँदा चार सय वर्ष पुरानो हस्तलिखित स्वस्थानी कथाको पुस्तकलाई पूजा मात्र गरेर राख्नुपरेको छ,' समिति पूर्वअध्यक्ष जनकनारायण श्रेष्ठले भने, 'पुरानो भाषा र नबुझिने लिपि भएकाले जोसुकैले कथा पढ्न सक्दैन।'

०६९ सम्म तत्कालीन पुजारीले गोविन्द श्रेष्ठले स्वस्थानी कथा वाचन गर्थे। अहिले पुजारी श्रेष्ठ वृद्ध र अशक्त भएकाले अहिले कथा वाचन रोकिएको उनले बताए। सालीनदीमा वाचन गरिँदै आएको कथाको किताब नेवारी भाषामा लेखिए पनि लिपि बुझ्ने व्यक्ति नभेटिएको समितिले जनाएको छ। 'हामी वाचन गर्न सक्ने मान्छेको खोजीमा छौँ,' समिति अध्यक्ष राजुभाइ मानन्धरले भने।

स्वस्थानी व्रत कथाको मूल किताब वाचन नगरिए पनि नेपाली भाषामा लेखिएको कथाको सारसंक्षेप व्रतालु आफैं पढ्ने गरेको समिति अध्यक्ष मानन्धरले बताए।

प्रकाशित: २३ माघ २०७३ ०३:२६ आइतबार

पुरानो स्वस्थानी पुस्तकको पूजामात्रै