समाज

दुध र अण्डामा मोरङ आत्मनिर्भर

फाइल तस्बिर

व्यवसायिक पशु तथा पंछिपालन गर्नेक्रम बढे पछि मोरङ दुध र अण्डामा आत्मनिर्भर भएको छ। जिल्ला पशुसेवा विज्ञ केन्द्र मोरङको आर्थिक वर्ष ०७८/७९ को तथ्यांकले   मोरङ दुध र अण्डामा आत्मनिर्भर भएको देखाएको छ।

मोरङमा बार्षिक ८४ हजार ५ सय ४ मेट्रिकटन दुध उत्पादन हुने गरेको छ। राष्ट्रिय मापदण्ड अनुसार प्रति व्यक्ति बार्षिक ५७ लिटर दुध आबश्यक पर्छ। तर, मोरङमा प्रतिव्यक्ति ८८ लिटर दुध उपलब्ध रहेको पशु विकास विज्ञकेन्द्र मोरङका सुचना अधिकारी पशुविकास अधिकृत बडेलाल यादवले बताए। यादवका अनुसार राष्ट्रिय मापदण्ड भन्दा प्रतिव्यक्ति  ३१ लिटर  बढी  दुध मोरङमा उपलब्ध छ। यस्तै अण्डामा पनि मोरङ आत्मनिर्भर रहेको छ। 

मोरङमा बर्षिक ४ करोड ८५ लाख २७ हजार वटा अण्डा उत्पादन हुने गरेको छ। सरकारले बार्षिक प्रतिव्यक्ति  ४८ वटा अण्डा आबश्यक पर्ने मापदण्ड तोकेको छ। तर, मोरङमा प्रतिव्यक्ति ५० वटा पुगेको छ। सरकारले तोकेको मापदण्ड भन्दा प्रतिव्यक्ति २ वटा अण्डा बढी उत्पादन भइरहेको पशुसेवा विज्ञकेन्द्र मोरङले जनाएको छ। यस्तै मोरङ माछा र मासुमा भने आत्मनिर्भर हुन सकेको छैन।

 व्यवसायिक रुपमा पशुपालन र माछा पालन गर्ने कृषकको संख्या बढ्दै गए पनि अझै सम्म आत्मनिर्भर भने भइनसकेको  पशु विकास ज्ञानकेन्द्र मोरङले जनाएको छ। मोरङमा बार्षिक १२ हजार ९ सय ३६ मेट्रिकटन मासु उत्पादन हुने गरेको छ। सरकारले प्रतिव्यक्ति बार्षिक १४ केजि मासु उपभोग गर्नुपर्ने मापदण्ड तोकेको छ। मोरङमा उत्पादित मासुले बार्षिक प्रतिव्यक्ति १३ केजी मासु उपलब्ध भइरहेको छ। मासुमा आत्मनिर्भर हुन प्रतिव्यक्ति बार्षिक १ केजी मासु कमी रहेको सूचना अधिकारी यादवले बताए। यस्तै मोरङ माछामा पनि आत्मनिर्भर भइसकेको छैन।

मोरङमा बार्षिक ४ हजार ३ सय ९ मेट्रिकटन माछा उत्पादन हुनेगरेको छ। सरकारले प्रतिव्यक्ति बार्षिक ६ किलो मापदण्ड तोकेको छ। मोरङमा प्रतिव्यक्ति ४.४६ किलो उपलब्ध भइरहेको छ। माछामा आत्मनिर्भर हुन प्रतिव्यक्ति १.५४ किलो माछा थप उत्पादन हुनुपर्ने देखिएको यादवले जानकारी दिए।  

प्रकाशित: २७ माघ २०७९ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App