समाज

आगलागी पीडितलाई राहत वितरण

जुम्लाको गुठिचौर गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। गुठिचौर गाउँपालिका ३ गर्ज्याङकोटका आगलागी पीडित गोपाल गिरीलाई राहत वितरण गरिएको हो। 

शनिबार गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी) ले पीडितको घरमै पुगेर राहत वितरण गरेकी हुन्।

बुधबार पीडित गोपाल गिरीको घरमा आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको थियो। उपाध्यक्ष शान्तिका अनुसार गिरिको परिवारलाई गाउँपालिकाले खाद्यान्न लत्ताकपडा लगायतका सामग्री वितरण गरेको हो।

उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी) ले चामल, ब्ल्याङ्केट, डसना र भान्सामा प्रयोग गरिने भाँडा वर्तन उपलब्ध गराइएको बताइन्। अहिले जुम्लाको बढ्दै गरेको चिसोको अवस्थालाई बुझेर तत्कालका लागी राहत सहयोग गरिएको उनले बताइन्।

आगलागी पीडित गिरीको परिवार आजभोलि आफन्तको घरमा बस्दै आएका छन्। पीडित गोपाल गिरीको भर्खरै निर्माण गरेको तीन तले घर जलेर नष्ट भएको थियो। आगलागीबाट १५ लाख  बराबरको क्षति भएको प्रहरीले जनाएको छ। नगद तथा जिन्सी सामान लगायत गहना, अन्नपात तथा लुगाफाटो सहित पुरै जलेको छ।

प्रकाशित: ३० पुस २०७९ १२:०४ शनिबार