हिन्दुधर्ममा ‘विवाह संस्कार’ लाई सोह्र संस्कारमध्येको एक मानिन्छ। ‘पाणिग्रहण संस्कार’ लाई विवाह संस्कारका रूपमा लिइन्छ। र, विवाहपछि पति–पत्नीबीचको सम्बन्ध जन्म–जन्मान्तरको मानिन्छ। एकपटक विवाह गरिसकेपछि जस्तोसुकै परिस्थितिमा पनि तोड्न मिल्दैन भनिन्छ। त्यसैले त विवाह गर्दा अग्निलाई सात फेरा लगाई ध्रुव र तारालाई साक्षी मानी दुई शरीर र आत्मा एउटै भएको वा बाँधिएको संकल्प गरिन्छ।
जतिजति समाज आधुनिकीकरणमा प्रवेश गर्दै छ, त्यति नै वैवाहिक सम्बन्धको डोरी कमजोर बन्दै दुखान्त घटनासम्म भएको विभिन्न आकडा र घटनाक्रमले देखाएका छन्।
सम्बन्धका कहालीलाग्दा अन्त्य !
सुर्खेत पञ्चपुरी नगरपालिका–३ तोक्माका अमरबहादुर आलेमगर र पत्नी मीना आलेमगरको आपसी झैंझगडा भइरहन्थ्यो। अमर एक वर्षअघि वैदेशिक रोजगारबाट फर्किएका थिए। विदेश बसेर आफूले कमाएको सम्पत्ति मिनाले हिनामिना गरेको अमरको आरोप थियो। यसबाहेक परपुरुषसँग सम्बन्ध रहेको विषयमा पनि उनको आशंका रहेको छिमेकीले बताउने गरेका छन्। झगडाका क्रममा मीनाले सम्बन्धविच्छेदको समेत कुरा उठाउन थालेकी थिइन्।
यसैबीच मंसिर २१ गते अमरले हँसियाको प्रयोग गरी मीनाको टाउको छिनाले। त्यसपछि प्लास्टिकको झोलामा टाउको बोकेर बजारतिर हिँडे। उनको त्यो तस्बिर सामाजिक सञ्जालमा समेत भाइरल बनेको थियो। प्रहरीले बजारबाटै उनलाई पक्राउ गर्यो। प्रहरी बयानमा आफू टाउको बोकेर प्रहरी चौकीतर्फ जान लागेको बयानसमेत दिएका थिए।
गोरखा भीमसेन गाउँपालिका–६ का दिनेश पाण्डेले १२ वर्ष कुबेत बसेर काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली पदमसालमा घर बनाए। त्यसयता उनकी पत्नी सुनिता काप्री पाण्डे, छोरा आशिक र छोरी आशिकासहित सोही घरमा बस्दै आएका थिए। तर पति–पत्नीबीच झगडा भइरहन्थ्यो। दिनेश पत्नीको विवाहेतर सम्बन्धको आशंका गर्थे। दुवैबीच पटक–पटक झगडा हुने गरेको र कहिलेकाहीँ प्रहरीसम्म पनि पुगेका थिए। यसैबीच सुनिता बेलायत जाने तयारीमा थिइन्। भिसा आइसकेको थियो। सुनिता विदेश जाने कुरामा दिनेश सहमत थिएनन्।
गत साउन १६ गते बिहानै पदमसालस्थित घरमा सपरिवार मृत फेला परे। दिनेश आफैं झुन्डिएको अवस्थामा थिए भने पत्नी सुनिता, छोरी आशिका र छोरा आशिक भने धारिलो चक्कुले हत्या भएको अवस्थामा थिए। घटनामा दिनेशले पत्नी र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो।
चितवन, भरतपुर महानगरपालिका–१० का कृष्णप्रसाद आचार्य र उनकी पत्नी रुस्मा आचार्यबीच आपसी विवाद भइरहन्थ्यो। ६ वर्ष साउदी अरेबिया बसेका कृष्ण पत्नीको बाह्य सम्बन्धको आशंका पाएपछि थाहै नदिई नेपाल फर्किएका थिए। त्यसपछि दिनहुँजसो झगडा र विवाद भइरहन्थ्यो। अन्ततः दुवैजना सम्बन्धविच्छेदको निष्कर्षमा पुगेका थिए। यस्तैमा गत साउन ८ गते राति कृष्णले रुस्मालाई खुकुरी प्रहार गरेर बीभत्स हत्या गरे। त्यसपछि घरको चारतला माथिबाट हाम फालेर आत्महत्याको प्रयास गरे। चोटग्रस्त अवस्थामा उद्धार गरिए पनि अस्पालतमा उनको मृत्यु भयो।
गत वर्ष मंसिर २० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा ३९ वर्षीय छेवाङ लामा मृत भेटिए। प्रहरी अनुसन्धानले हत्यामा उनकै पत्नीी २८ वर्षीया नीमा साङ्मो तामाङको संलग्नता भेट्टायो। सँगै नीमाका प्रेमी रहेका सोही ठाउँका ३६ वर्षीय कान्छालाल लामासमेत संलग्न रहेको पाइयो। नीमा र कान्छालालबीच विवाहेतर सम्बन्ध रहेको मृतक छेवाङले थाहा पाएका थिए। त्यसपछि दुवै मिलेर छेवाङको हत्या गरेको प्रहरी निष्कर्ष थियो। नेपाली समाजमा अहिले दिनहुँजसो यसैगरी पतिले पत्नी र पत्नीले पतिको हत्या गरेका, हत्यापछि आत्महत्या गरेका घटना बढिरहेका छन्। जसले हिन्दु धर्मशास्त्रानुसार पवित्र मानिएको वैवाहिक सम्बन्धलाई कमजोर त पारेको छ नै, सँगै हिंस्रक र क्रूर अवतारमा परिणत गरिरहेको छ।
एकै वर्षमा सयौं जीवनसाथीको हत्या
पछिल्ला पाँच आर्थिक वर्षको आँकडा हेर्ने हो भने नेपाली समाजमा एकै वर्ष सयौंको आफ्नै जीवनसाथीबाट हत्या हुने गरेको छ। नेपाल प्रहरीसँग रहेको तथ्यांकअनुसार पछिल्ला पाँच आवमा ५ सय ५० जना पति–पत्नीको आफ्नै जीवनसाथीबाट हत्या भएको छ। जसमा पतिबाट ४ सय ५३ पत्नीको हत्या भएको छ भने ९७ जना पतिको पत्नीबाट हत्या भएको छ।
पाँच वर्षको आकडाअनुसार नेपालमा हुने कुल हत्याका घटनामा जीवनसाथीबाटै हत्या हुने घटना झन्डै १८ प्रतिशत देखिन्छ। आव २०७४/७५ देखि २०७८/७९ सम्म नेपालमा कुल ३ हजार १ सय २९ हत्या भएको नेपाल प्रहरीको तथ्यांक छ।
आव २०७४/७५ मा कुल भएका ६ सय २८ हत्यामध्ये २ सय ६ हत्या परिवारकै सदस्यबाट भएका थिए। तीमध्ये पनि ८३ जना पत्नीको हत्या पतिबाट र १६ जना पतिको हत्या पत्नीबाट भएका थिए। आव २०७५/७६ मा देशैभर कुल ६ सय ५९ हत्या हुँदा परिवारकै सदस्यबाट १ सय ९९ हत्या भएका थिए। जसमा ८९ पतिले पत्नीको र १५ पत्नीले पतिको हत्या गरेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ।त्यस्तै आव २०७६/७७ मा कुल ५ सय ५५ हत्या भएका थिए। जसमध्ये परिवारका सदस्यबाटै १ सय ९० हत्या हुँदा ७० पतिले पत्नीको र १७ पत्नीले पतिको हत्या गरेका थिए। आव २०७७/७८ मा जीवनसाथीकै हत्या हुने दरमा ह्वात्तै बढोत्तरी भएको देखिन्छ। अघिल्लो तीन वर्षमा कुल हत्याको १६ प्रतिशत दम्पतीबाटै भएको देखिन्थे। तर २०७७/७८ मा भने २० प्रतिशत भएको देखिन्छ। यो वर्ष कुल ६ सय ९७ जनाको हत्या हुँदा परिवारका सदस्यबाट २ सय ६६ हत्या भएको तथ्यांकले देखाउँछ। जसमा पतिबाट १ सय १४ पत्नीको र पत्नीबाट २० पतिको हत्या भएको देखिन्छ। त्यस्तै आव २०७८/७९ मा दम्पती हत्याको दर अझै बढेर २२ प्रतिशत पुगेको छ। जसमा कुल हत्या ५ सय ९० हुँदा परिवारका सदस्यबाट २ सय ५३ जनाको हत्या भएको थियो। तथ्यांकअनुसार पतिबाट ९७ पत्नीको र पत्नीबाट २९ पतिको हत्या भएको छ। यसरी जीवनसाथीबाट हत्या हुने दर १ नम्बर प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा अत्यधिक छ।
१४ वर्षमा १ हजार प्रतिशतले बढ्यो सम्बन्धविच्छेद
सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनअनुसार १५ वर्षको अन्तरमा नेपालमा सम्बन्धविच्छेदको दर १ हजार प्रतिशतले बढेको छ। सर्वोच्चको आव २०६४/६५ को प्रतिवेदनअनुसार २ हजार ७ सय ५५ वटा सम्बन्धविच्छेदका मुद्दा देशभरका अदालतको लगतमा रहेका थिए। त्यसको ४ वर्षपछि आव २०६७/६८ मा २ सय ३० प्रतिशत बढेर ६ हजार ९५ मुद्दा लगतमा परेका थिए। १४ वर्षपछि आव २०७७/७८ मा झन्डै एक हजार प्रतिशत बढेर २७ हजार ४ सय २५ मुद्दा देशभरका अदालतका लगतमा परेका छन्।
सम्बन्धविच्छेदका मुद्दा बढेका मात्रै छैनन्, अदालतमा पर्ने सबैजसो प्रकृतिका मुद्दाहरूलाई उछिनेका पनि छन्। सबै प्रकृतिका मुद्दाको औसत दरको हिस्सामा समेत सम्बन्धविच्छेदको दायरा बढ्दै गएको छ।
२०६४/६५ देशभरका अदालतमा कुल मुद्दा ८९ हजार ९ सय ३९ लगतमा हुँदा सम्बन्धविच्छेदका मुद्दा ३ प्रतिशत मात्रै थिए। उतिबेला जग्गासम्बन्धी २६ हजार ४ सय ९९ मुद्दाले सबैजसो मुद्दाका प्रकृतिलाई पछाडि पारेका थिए। २०६७/६८ सालमा आएर देशभरका अदालतमा १ लाख २२ हजार १ सय ७० मुद्दा लगत हुँदा सम्बन्धविच्छेदका झन्डै पाँच प्रतिशत मुद्दा कायम भएका थिए। सो वर्ष पनि २५ हजार २ मुद्दासहित जग्गासम्बन्धी मुद्दा सबैभन्दा बढी थिए। १४ वर्षपछि २०७७/७८ मा भने देशभरका अदालतमा कुल २ लाख ९० हजार ५ सय ६४ मुद्दा पर्दा त्यसको झन्डै १० प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा छन्। जुन सबै प्रकृतिका मुद्दाभन्दा बढी हो।
आर्थिक–सामाजिक रूपान्तरणको असर
नेपाली समाजमा पछिल्लो समय भइसकेको सामाजिक र आर्थिक आयामको रूपान्तरणको प्रभावले विवाहित दम्पतीको सम्बन्धमा असर गरिरहेको जानकारहरू बताउँछन्। पछिल्लो समयमा जीवनसाथीबाटै हुने हत्याका घटनामा पनि यिनै कारण कारक बन्ने गरेको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राई बताउँछन्। उनले भने, ‘यस्ता घटनाको प्रकृति हेर्दा सामाजिक, सांस्कृतिक र आर्थिक कारणबाटै भएको पाइन्छ।’ आर्थिक कारणले पति विदेश जाने र त्यही वैदेशिक रोजगारकै कारण सिर्जना भएको पत्नीसँगको खाडलले बढीजसो समस्या निम्त्याइरहेको छ। ‘विदेश जाँदा पत्नीसँग छुट्टिएको हुन्छ। त्यसले दुवैको मनमा संशय जन्माइसकेको हुन्छ। यता आउँदा कमाएको पैसा हुँदैन। न सामाजिक प्रतिक्रिया ठिक देखिन्छ। यही द्वन्द्वमा हिंसादेखि हत्यासम्मका घटना हुन्छन्,’ उनले।
दम्पतीबीच अहिले देखिइरहेका सम्बन्धविच्छेद र हिंसादेखि हत्यासम्मका घटना नेपाली समाजको संक्रमणकालीन अवस्थाका ‘बाइप्रडक्ट’ रहेको समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे बताउँछन्। उनका अनुसार नेपाली समाज अहिले समग्रतामा भन्दा चरम संक्रमणकालीन अवस्थामा छ। राजनीतिक, आर्थिक, सामाजिक, न्यायिकलगायत तमाम कुरा संक्रमण कालको चरणमा चलिरहेका छन्। सामन्तवादबाट पुँजीवादतिर, परम्परागतबाट आधुनिकतातिर, धर्म, संस्कृतिजन्य सामाजिक न्यायबाट आधुनिक न्यायप्रणालीतिर समाज रूपान्तरण हुँदै छ,’ समाजशास्त्री घिमिरे भन्छन्, ‘यही कारण हिजोको बन्द समाज खुलामा, सञ्चारविहीनताबाट आधुनिक सञ्चारतिर लम्कँदै गर्दा पुरानो पुरापुर छाड्न नसकेको, नयाँ अवलम्बन गर्न खोजेको विरोधाभाषपूर्ण अवस्थाका कारण यस्ता समस्या देखिएका छन्।’
प्रकाशित: १६ पुस २०७९ ०१:१७ शनिबार