समाज

जुम्लाका किसान दाँतेओखर खेतीमा आकर्षित

पछिल्लो समय जुम्लाका किसान दाँते ओखर खेतीप्रति आकर्षित हुँदै गएका छन्। जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका लागि दाँते ओखर राम्रो आम्दानीको स्रोत बनेको छ। 

चन्दननाथ नगरपालिका ४ का रत्न मल्लले ओखरखेतीबाट मनग्ये आम्दानी हुने बताए। सोही नगरपालिका १० का बिर्खबहादुर मल्लले पनि आफूहरु व्यावसायिकरुपमै ओखरखेतीमा लागेको र आयआर्जनमा समेत वृद्धि भएको बताए।

मल्लले ओखर बेचेर यो वर्ष मात्र ८० हजार रुपैयाँ कमाएको सुनाए। ओखरको बगैँचामा रहेका ७ वटा बोटमा फलेको ओखरले ८० हजार रुपैयाँ कमाउँदा ओखरखेती प्रति निकै आकर्षण बढेको उनी बताउँछन्। 'अघिल्ला वर्षहरुमा पनि राम्रो कमाई हुन्थ्यो, स्थानीय सरकारले किसानका लागि राहत हुने गरी काम गर्नुपर्छ र अनुदानको व्यवस्था मिलाउनुपर्छ।' उनले भने।

मल्ल दिउँसोको समयमा ओखर बिक्री गर्न जुम्ला बजारसम्म  पुग्ने गर्छन्। आगामी वर्ष ओखर बेचेर २ लाखसम्म कमाउन सक्नेगरी बगैँचा व्यवस्थापनमा आफूहरू जुटेको उनले बताए। सुरुको चरणमा हुर्काउन दुःख हुने भएपनि हुर्केपछि ओखरमा खासै दुःख नहुने जुम्लाका किसान बताउँछन्।

ओखर खरिद गर्न व्यापारी गाउँमै आउने गरेका छन्। यहाँका ८ वटै स्थानीय तहमा यसको खेती हुँदै आएको छ। एकै बोटमा पाँच हजार रूपैयाँसम्मको ओखर फल्ने गरेको उनीहरुको भनाइ रहेको छ। अहिले खलङ्गा बजारका विभिन्न चोकमा ओखर बेच्ने किसानको भीडभाड हुने गरेको छ।

गुठिचौर गाउँपालिकाका किसान दत्त पाण्डेले ओखर सदरमुकाम खलंगामा ल्याएर पाँच हजार रुपैयाँका बिक्री गर्ने गरेका छन्। बजारमा अहिले ओखरको मूल्य प्रतिदाना १० रूपैयाँका दरले बिक्री हुने गरेको छ। जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकको एकमात्र रोजाइ ओखर हुने गरेको छ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले ओखरखेती गर्नेको सङ्ख्या जिल्लामा बढेको जानकारी दिए। अधिकारीका अनुसार जिल्लामा ५ सय ९० हेक्टरमा ओखरखेती हुने गरेको छ। अधिकांश किसानले ओखर कोसेलीघरमा पुगेर प्याकेजिङ गरी बिक्री गर्ने गरेका छन्।

प्रकाशित: १५ मंसिर २०७९ ०९:०१ बिहीबार