समाज

उदयपुरमा मत परिणाम नआई म्यादीलाई बिदाई

क्याप्सनः म्यादी प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै एसपी फुयाल। तस्विरः महेश्वर

उदयपुरमा चुनावी मत परिणाम नआई म्यादी प्रहरीलाई बिदा दिइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार एक कार्यक्रमको आयोजना गरी म्यादीहरुलाई बिदाई गरेको हो।

मंसिर ४ गतेको चुनावलाई लक्षित गरी गत असोज ३० गतेदेखि काममा खटाइएका म्यादीलाई ४० दिनको अवधि पुरा गरेपछि औपचारिक रुपमा बिदा दिइएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए। उनका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले नियुक्त गरेका १ हजार १ सय ६७ म्यादीलाई बिदा गरिएको हो। 

जिल्ला प्रहरी परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख प्रमुख एसपी ज्ञानेन्द्र फुयाल र नेपाली सेनाका गणपति विजय भण्डारीलगायतले म्यादीलाई प्रमाणपत्र प्रदान गरेका थिए। सो अवसरमा प्रजिअ गौतम र एसपी फुयालले उदयपुरका सबै मतदान केन्द्रमा खटेर शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गर्न सहयोग गरेकोमा धन्यबाद दिदै भावी दिनको प्रगतिको कामना गरेका थिए।

उदयपुरको २ नं. क्षेत्रको प्रतिधिनिधिसभा तथा प्रदेदसभाको मत परिणाम अघिल्लो दिन नै आईसके पनि क्षेत्र नं. १ को नतिजा आउन अझै सुरसार छैन। ७६ हजार ५ सय ७६ मत खसेको १ नं. को बिहीबार साँझ ६ः४५ बजेसम्म प्रतिनिधिसभातर्फ ३४ हजार ७९ मात्र गणना सकिएको छ। प्रदेश क) तर्फ २९ हजार ६ सय ७२ र ख) तर्फ २७ हजार ७ सय ८६ मत मात्र गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मत परिणाम नआईसके पनि सरकारले तोकेको अवधि पुरा भएकाले सबैलाई बिदा गरिएको एसपी फुयालले बताए। राज्यले म्यादीका लागि ४० दिनको मात्र रशद पानीवापत खर्च र तलव भत्ताको व्यवस्था गरेकाले सोही अनुसार बिदा दिइएको उनले बताए। गणनामा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाबाटै सुरक्षा गर्ने भएकाले म्यादीलाई राख्नुपर्ने जरुरत पनि नभएको उनको भनाई छ।

प्रकाशित: ८ मंसिर २०७९ १६:४५ बिहीबार