राजनीति

सिन्धुली क्षेत्र नं. १ मा विराशत भत्काउने र जोगाउनेबीच प्रतिस्पर्धा

आसन्न मंसिर ४  गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ तर्फ प्रतिनिधिसभामा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सोही प्रदेशको ख मा प्रतिस्पर्धा गरेको नेपाली काँग्रेसका श्यामकुमार घिमिरे र नेकपा एमालेबाट प्रतिस्पर्धा गरेका प्रदिप कटुवालबीच प्रतिनिधिसभामा प्रतिस्पर्धा हुने भएको छ।

गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य श्यामकुमार घिमिरे नेकपा एमालेको २५ वर्षे विरासतलाई यसपटक तोडेर आफू सांसद बन्ने दौडमा छन् गत ०७४ को निर्वाचनमा हालका प्रतिनिधिसभाका उम्मेदवार काँग्रेसका घिमिरेलाई हराउदै प्रदेशसभा सदस्य बनेका प्रदिप कटुवाल पुन घिमिरेलाई हराएर जित्ने दाउमा छन्।  

दुबै उम्मेदवार मतदातामाझ आश्वासन बाड्न व्यस्त छन्। गठबन्धन तर्फबाट उम्मेदवार बनेका घिमिरे नेकपा एमालेले २५ वर्ष गर्न नसकेका काम आफू पाँच वर्षमै गर्ने मतदातामाझ बताइरहेका छन्। म नेकपा एमालेको लामो समयदेखिको विराशत भत्काउछु, उनले भने, एमालले यस क्षेत्रमा २५ वर्षदेखि गर्न नसकेका काम म निर्वाचित भएपछि पाँच वर्षमै गरेर देखाउछु। गठबन्धन भित्र अन्र्तघात नभए यस क्षेत्रमा यसपटक एमालले २५ वर्षदेखि कायम गरेको विराशत भत्कन सक्ने मतदाताको भनाइ छ।  

यस्तै नेकपा एमालेका उम्मेदवार कटुवालले सरकारले मंहगी बढाउने र भ्रष्टचारलाई बढाउन सहयोग गर्ने काम गरेको आरोप लगाउदै यो सरकारबाट जनचाहना अनुसारको  विकास निर्माण नहुने भएकाले आफूलाई मत दिन मतदातामाझ आग्रह गरेका छन्। उनले  मतदातालाई आफू निर्वाचित भए विकास हुने आश्वासन दिइ रहेका छन्। मैले प्रदेशसभा सदस्य भएर थालनी गरेको धेरै अधुरा काम छन्, ति कामलाई पुरा गर्न म उम्मेदवार भएको हुँ उनले भने।  

यस क्षेत्रमा दुई प्रदेशसभा क्षेत्र छन्। गठबन्धनका तर्फबाट सिन्धुली क्षेत्र नं. १ का प्रदेश क मा माओवादीका मातृका भट्टराई चुनावी मैदानमा छन् भने एमालेबाट सुवास देवकोटा चुनावी मैदानमा होमिएका छन्। यस्तै प्रदेश ख मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामुकमार पहाडीको र एमालेबाट कुमारबहादुर कार्कीको प्रतिस्पर्धा हुने भएको छ।  

निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारलाई घरदैलो कार्यक्रम गर्न भ्याइनभ्याई भएपनि मतदातामा भने खासै रौनक देखिएको छैन। मतदाता खेतबारीकै काममा व्यस्त भएकाले रौनक नदेखिएको स्थानीय बताउँछन्। उम्मेदवारले निर्वाचनका बेला घरदैलोमा आएर दिएका आश्वासन मतदाताले पत्याउदैनन्। यहि निर्वाचनका बेला आएर कति धेरै विकास गर्ने जत्तिकै गरेर सबै पार्टीका उम्मेदवारले भाषण गर्छन् जितेपछि नाकमुख देखिन गाह्रो हुन्छ, दुधौलीका रिमा धामीले भनिन्, आश्वासन दिन्छन् विकास हुदैन।  

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा  २ लाख ८ हजार ३ सय ६९ जना मतदाता रहेका छन् भने १ सय ५१ मतदान स्थलमा २ सय ६७ स्थाई मतदान केन्द्र छन्। यस्तै दुई ओटा अस्थाई मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ।  

प्रकाशित: २३ कार्तिक २०७९ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App