राजनीति

विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन्।  

तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ संकल्प बोकेर आएको बताए।  

'देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ। अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो', उनले भने। वरिष्ठ नेता पौडेलले आफूहरु जनतालाई ठूला सपना देखाउने पक्षमा नरहेको जिकिर गरे। 'हामी रेल र पानीजहाजका कुरा गर्दैनौं, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौं, जे कुरा गर्छौं त्यो पूरा गर्छौं', पौडेलले भने।  

वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, पर्यटन र ऊर्जाले देश समृद्ध बन्ने बताउँदै त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने बताए। 'बन्दीपुरको पर्यटन विश्वमाझ प्रख्यात छ, यसलाई थप विकास गर्नेतर्फ हाम्रो ध्यान रहनेछ', पौडेलले भने। गाउँगाउँमा यातायात, बिजुली पुगे पनि रोजगारी नपुगेको भन्दै पौडेलले अब गाउँमा नै आम्दानी र रोजगारी पुर्‍याउन उद्योगधन्दा स्थापना गरिने दाबी गरे।  

प्रकाशित: २१ कार्तिक २०७९ ०७:५६ सोमबार

नेपाली कांग्रेस