‘देशमा कानुन छैन, नेता छैनन, अहिले भएका नेता भन्नेहरु कमाउन आएका हुन्’ आसन्न निर्वाचनमा गोरखा २ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका टिकादत्त पोखरेलले भने ‘जनतालाई अधिकार दिलाउन र हिन्दुराष्ट्र कायम गर्न मैले उम्मेदवारी दिएको हुँ।’
गोरखा सिरानचोक गाउँपालिका ४ छोप्राकका उनी मंसिर ४ गते हुने निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँग चुनावी प्रतिस्पर्धा गर्दैछन्। उनी सहित १२ जना उम्मेदवार गोरखा २ मा छन्। पोखरेल सबैभन्दा जेठो उम्मेदवार हुन्। उनी सोमवार एक सय वर्ष पुगे। जन्मोउत्सवको अवसरमा उनले शुभकामना दिन घरमा आएका छिमेकी, आफन्तलाई सुनाउँदै भने ‘म कस्तो के हो भन्ने ढुङ्गा माटोले चिनेको छ, म सँग प्रतिस्पर्धा गर्नेहरुको बारेमा पनि जनतालाई थाहा छ, हलेदो भनेपछि कोट्याईरहनु पर्दैन।’
आफुले जित्नेमा दावी गर्दै अहिले भएको बिकास निर्माण, शिक्षाको जग नै आफुले बसालेको बताए। आफु उम्मेदवार बन्नुको कारण मध्ये नेपालीले सिंहदरवार छिर्न नपाउनुपनि एउटा कारण रहेको उनले बताए। ‘नेपाली भएर आफ्नो अधिकार लिन सकेन, आफनो हक लिन सकने, एउटा नेपालीले नागरिकता लिएर सिंहदरवार भित्र पस्न पाउँदैन! कत्रो अन्याय?’ उनले भने ‘चारै ढोका खुल्ला हुनुपर्छ, यस्तो अत्याचार खप्न नसकेर मैले उम्मेदवारी दिएको।’ आफुले चुनाव जितेको खण्डमा नेपाली छोराछोरीलाई कुन तरिकाले देशमै राख्ने, बिदेश नपठाउने भन्ने बारेमा राम्रो ब्यवस्था गर्ने उनले दावी गरे।
‘शहिदको रगत त्यसै खेर गयो, विपीले नेपालमा प्रजातन्त्र आउँछन् सुकिला मुकिला हाबीहुन्छन् भन्नुभाथ्त्यो, आज त्यही भयो’ विपी कांग्रेसबाट उम्मेदवार बनेका उनले भने। नेपाली कांग्रेस गोरखाको क्रियाशिल सदस्यको रुपमा पनि बिगतमा काम गरेको अनुभव उनीसँग छ।
सोमवार बिहानैदेखि पोखरेलको घर छोप्राकमा मानिसहरुको चहलपहल थियो। जन्मदिन मनाउन उनको घर सजाईएको थियो। सय वर्ष पुगेको अवसरमा छिमेकी, आफन्त र चिनेजानेकाहरु उनलाई भेट्न आएका थिए। केक काटेर आफुलाई भेट आएकालाई टिका लगाउँदै आर्शिबाद दिएर उनले जन्मदिन मनाए। उनलाई भेट्नेहरुले पनि निर्वाचनमा सफलताको शुभकामना दिएका थिए। घरपरिवारका सदस्यले एक सय वर्ष पुगेको अवसरमा कार्यक्रम गरेको र भेटघाट गर्न पाउँदा निकै खुसी भएको उनले सुनाए।
एक सय वर्ष उमेरका टिकादत्त पोखरेल अहिलेपनि फुर्तिला देखिन्छन्। प्रष्ट बोली, लौरोको सहायता बिना हिँडडुल गर्न सक्ने उनको तीन छोरा, चार छोरी छन्। २०५१ मा उनले श्रीमती गुमाए। उनी नेपाली कांग्रेस विपी का सल्हाकार छन्।
२०२४/२५ मा छोप्राक गाउँ पञ्चायतको उपाध्यक्ष निर्विरोध भएका थिए। सरकारी सेनामा जागिरे पोखरेल हतियार सहित मुक्ति सेनामा गएका हुन्। केही समय भारत लुकेका उनी २०३३ पछि नेपाल फर्किएको बताउँछन्।
‘विपीले मेलमिलापको नीति लिएपछि नेपाल आएको हुँ’ उनले भने ‘सरकारले त्यतीबेला राज्यबाट पिडित भएको भन्दै मलाई तीन बिगाह जग्गा दिएको थियो।’ उनका गाउँले साथी कृष्णप्रसाद न्यौपानेले पनि तीन रोपनी जग्गा पाएका थिए।
उनका सहकर्मी ८२ वर्षिय फडिन्द्रमणी पोखरेल भन्छन् ‘उहाँ पहिलेदेखि हठी स्वभावको हुनुहुन्थ्यो, अहिलेपनि जोस जाँगर केही गरु भन्ने उहाँमा छ।’ गाउँपञ्चायत उपाध्यक्ष हुँदा आफु वडा अध्यक्ष रहेको स्मरण गर्दै उनले भने ‘उमेर घर्किएपनि जोश कम भएको जस्तो ठान्दिन।’
उनको कान्छा छोरा अर्जुनबाबु पोखरेल सय वर्षे बाबुको जोश देखेर छक्क पर्छन। ‘थोरै उच्च रक्तचाप छ, अरुकुनै शारीरिक समस्या बुबामा छैन’ उनले भने ‘बिहान चियाँ आफैँ बनाएर खानुहुन्छ, नित्यकर्म आफैँ गर्नुहुन्छ, हामीले खाने खान नै खानुहुन्छ, उहाँको लागि छुट्टै बनाउनुपर्दैन।’ स्वास्थ्य राम्रो छ। बिहान ४ बजे उठ्ने, नित्यकर्म गर्ने, हिँडडुल गर्ने, खाना, खाजा खाने, बेलुकी समयमै सुत्ने सय वर्षे पोखरेलको दैनिकी बनेको छ। अहिले भने उनी कहिले छोराको घर चितवन र कहिले गोरखा बस्ने गर्छन।
प्रकाशित: १४ कार्तिक २०७९ ०९:३७ सोमबार