राजनीति

आचारसंहिता कार्यान्वयन गर्न जुम्लाका राजनीतिक दल र उम्मेदवारसँग छलफल

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहाँका राजनीतिक दल र उम्मेदवारसँग निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न छलफल गरेको छ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सातबुँदे निर्देशन दिएलगत्तै यहाँका राजनीतिक दल सम्बद्ध उम्मेदवारलाई आचारसंहिता पूर्णपालन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल गरिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए। उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेमा आयोगले जारी गरेको ऐनअनुसार कारबाही गरिने निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका अन्य व्यवस्थाको उल्लङ्घन भएमा प्रचलित कानुनबमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुनसक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्न र अरुलाई समेत पालना गर्न लगाउन आयोगले निर्देशन दिएको छ।

यहाँका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसमेत पार्टीको प्रचारप्रसारमा सहभागी हुने र स्थानीय तहको स्रोत साधन प्रयोग भएकाले आयोगले अनुगमन गर्नुपर्ने नेकपा (एमाले) का अध्यक्ष शान्तिलाल महतले बताए। निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालन गर्ने यहाँका राजनीतिक दल र उम्मेदवारले कार्यान्वयमा जोड दिने प्रतिबद्धता जनाएका छन्। 

प्रकाशित: ४ कार्तिक २०७९ ०७:३१ शुक्रबार

जिल्ला निर्वाचन कार्यालय आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन