राजनीति

काँग्रेस नेता स्व.प्रदीप गिरिका बारेमा कुन नेताले के भने?

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले स्व. प्रदीप गिरि निडर नेता भएको बताएका छन्।

आइतबार बिहान नेता गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका नेता कोईरालाले उनी आफ्नो कुरा स्पष्टसँग राख्नसक्ने निडर नेता भएको बताएका हुन्। गिरिको सादगी जीवनबाट नेपालका राजनीतिज्ञहरुले पनि केही सिक्नुपर्ने उनको भनाई छ। 

उनले भने – ‘उहाँ निडर मान्छे। पार्टीले मलाई के गर्छ, कसो गर्छ भन्ने पनि थिएन। त्यसलाई कसैले अराजक भन्ला, कसैले विचारक भन्ला, कसैले पार्टीभन्दा अलिकति माथि भन्ला यो आफ्नो ठाउँमा छ। र उहाँबाट हामीले सिक्नुपर्ने भनेको सादगी जीवनपनि हामीले सिक्नुपर्नेछ।’

त्यस्तै गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले गिरि नेपाली राष्ट्रियताको संवद्र्धन र जनताको अधिकारलाई स्थापित गर्न जीवनभर लागिरहेको बताए। गिरिले नेपाली काँग्रेसलाई समावेशी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको उनले उल्लेख गरे। उनको निधनले सिंगो देशलाई क्षति भएको मन्त्री खाँणको भनाई छ।  

उनले भने – ‘नेपालको राजनीतिमा उहाँको प्रतिवद्धता प्रजातान्त्रिक समाजवादप्रति थियो। प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तककै रुपमा हुनुहुन्थ्यो उहाँ। उहाँको राजनीति दार्शनिक ढंगको थियो। राजनीतिलाई सही दिशामा लिएर जाने, नेपालको राष्ट्रियताको संवद्र्धन र जनताको जनाधिकारलाई स्थापित गर्ने क्रममा उहाँ जिन्दगिभर लागिरहनु भयो। नेपाली काँग्रेसको प्रभावशालि नेता हो। आफ्नो निर्वाचन क्षेत्रमा पनि उहाँ सबैको लोकप्रिय नेता हुनुहुन्थ्यो। नेपाली काँग्रेसलाई समावेशिकरण गर्न, सबै जातजाति, भाषाभाषि, धर्म, संस्कृतिलाई समान रुपमा महत्व दिनुपर्छ र स्थान दिनुपर्छ भन्नेमा उहाँको शुरुदेखि नै जोड थियो र नेपाली काँग्रेसले त्यसलाई अंगिकार पनि गरेको छ। मुलुकले पनि अंगिकार गरेको छ।’

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गिरिलाई समाजवादी विचारका चिन्तक तथा अध्ययनशिल व्यक्तित्वको रुपमा उल्लेख गरे। उनी कम्युनिष्ट र काँग्रेस मिलेर नै देशको विकास गर्नुपर्छ भन्ने पक्षमा रहेको मुख्यमन्त्री पाण्डेले बताए। विगतमा पञ्चायतविरुद्द कम्युनिष्ट र काँग्रेसको एकताको पक्षमा गिरि रहेकै कारणले पनि सो आन्दोलन सफल भएको उनले स्मरण गरे।

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले गिरि नेपाली राजनीतिको एउटा ताराको रुपमा रहेको उल्लेख गरे। गिरिलाई सादगी जीवन जिउने निष्ठावान राजनीतिज्ञको रुपमा अथ्र्याए। गिरिले लोकतन्त्र र समाजवादको गहिरो व्याख्या गर्ने शर्नाले स्मरण गरे।

नेपाली काँग्रेसका नेता उदय समशेर राणाले प्रदीप गिरि निःस्वार्थी नेता भएको उल्लेख गरे। कुनैपनि लोभ उनमा नरहेको भन्दै राणाले सांसद बनेर संसदमार्फत बोली सरकारलाई दबाब दिनुमात्रै उनको चाहना रहेको बताए।

गिरिलाई पार्टी कार्यकर्ताले असाध्यै माया गर्ने गरेको र महाधिवेशनमा जिताउने गरेको पनि उनले बताए। ७५ वर्षीय गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पताल निधन भएको थियो। आज बिहान मेडिसिटी अस्पतालमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर पार्टी केन्द्रिय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। आज नै उनको पार्थिव शरीरको अन्त्येष्टि गरिदैँछ।

प्रकाशित: ५ भाद्र २०७९ ०८:२० आइतबार

नेपाली कांग्रेस डा. शेखर कोईराला गृहमन्त्री बालकृष्ण खाँण अर्थ मन्त्री जनार्दन शर्मा राजेन्द्रप्रसाद पाण्डे स्व. प्रदीप गिरि