राजनीति

सुरक्षा अंगमा बालुवाटारको छाया

फाइल तस्बिर

गृह मन्त्रालयमातहतका तीनवटा सुरक्षा अंगमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार हाबी भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा पूर्ण रूपमा हाबी हुँदा सरुवाबढुवामा असर परेको छ। राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमातहत भएकाले त्यहाँ बालुवाटारको प्रत्यक्ष हस्तक्षेप रहन्छ।  

नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिआइजी बढुवादेखि डिएसपी बढुवासम्म बालुवाटारबाट बनेको सूचीलाई गृह मन्त्रालयले सदर गर्ने र मानव स्रोत विभाग प्रमुखले हस्ताक्षर गरेर प्रकाशन गरेका छन्। जसले गर्दा दुवै संगठनको बढुवामा उथलपुथल देखिएको छ। दुई दिनअघि सशस्त्र प्रहरी बलमा रिक्त १६ एसएसपी पदमा बढुवामा पनि उथलपुथल देखिएको छ। सशस्त्र प्रहरी नियमावली नै संशोधन गरेर एक एसपीलाई पहिलो सूचीमा बढुवा गरिएको छ। पुरानो लटबाट पहिलो नम्बरमा बढुवा गरिएका प्रदीप कँडेलले चाँडै अवकाश पाउने भएपछि बालुवाटारको दबाबमा कामु एसएसपी दीपेन्द्र कुँवर ‘ख’ को दोस्रो नम्बरमा बढुवा गरिएको छ। उनी आफ्नो ब्याचमा १० नम्बरमा थिए। कामु एसएसपी भएको दुई महिनामै दोस्रो नम्बरमा ल्याइएको छ।

नेपाल प्रहरीको प्राविधिक सईबाट सशस्त्रमा छिरेका कँडेलको पक्षमा माओवादी केन्द्रले दबाब दिएको थियो। उनी कार्यक्षमतामा कमजोर भए पनि गठबन्धन सरकार भएकाले बालुवाटारले उनलाई बढुवा गर्न दबाब दिएको थियो। तर उनी चाँडै अवकाशमा जाने भएपछि कुँवरलाई नै बढुवामा अघि ल्याइएको हो।  

कुँवरको विषयमा प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवा निरन्तर लागिरहेका थिए। भानुका बहिनी ज्वाइँ भएकाले सशस्त्रको स्टाफ कलेज पढ्न नामसमेत ननिकालेका उनलाई तत्कालीनन समयमा देउवाकै पहलमा सेनाको स्टाफ कलेज पढ्न पठाइएको थियो। त्यतिबेला आफ्नो व्याचमा ११औं नम्बरमा रहेका कुँवर बढुवा हुने अवस्था नआएपछि लामो समय कामु एसएसपीको बढुवा रोकिएको थियो। करिब एक वर्ष कामु हुनबाट उनी रोकिएका थिए। कुँवर स्टाफ कलेज सिध्याएर आउनुभन्दा एक महिनापहिला उनीअघिका एक एसएसपी अवकाशमा गएपछि बल्ल कामु एसएसपीमा बढुवा गरिएको थियो। कामु एसएसपीको बढुवामा १० नम्बरमा रहेका कुँवरलाई एसएसपीमा बढुवा गर्दा २ नम्बरमा ल्याइएको हो। कुँवरभन्दा अघि रहेका विष्णुप्रसाद भट्ट, दिग्विजय सुवेदी र विश्व भट्टराईलाई पछि पारिएको छ। अहिले सात नम्बरमा कमलप्रसाद तिउसिना रहेका छन्।  

यसअघि पनि कार्यक्षमतामा अब्बल रहेका धेरै एसपी बढुवामा छुटेका थिए। ३७ जना बढुवा गर्दा २१ नम्बरका गुणराज न्यौपाने, २३ नम्बरका क्षितिज क्षेत्री, २४ नम्बरका प्रेम प्रसाईं, २७ नम्बरका विश्वबन्धु खड्का, २८ नम्बरका नवीनकुमार खड्का, ३० नम्बरका मोहनबहादुर क्षेत्री, ३१ नम्बरका आनन्द थापामगर, ३२ नम्बरका खगेन्द्रबहादुर चन्द बढुवामा छुटेका थिए। उनीहरू धेरै पछि रहेकाहरू अघि आउँदा छुटेका हुन्।  

त्यसैगरी प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा हुँदा कार्यक्षमतामा निकै अब्बल रहेका सवर्ण थापालाई बढुवामा रोकिएको थियो। ‘सशस्त्र प्रहरीमा यतिबेला बालुवाटारको मात्रै सूची बढुवामा परेको देखिन्छ’, स्रोतले भन्यो। त्यसैगरी प्रहरी निरीक्षक कमाण्ड रहेको बिओपीमा डिएसपीलाई काजमा राखेको अर्को बेथिति निम्ताइएको छ। रूपन्देहीको डण्डा बिओपीमा प्रहरी निरीक्षकको कमाण्ड छ। तर त्यहाँ एक वर्षअघि साउनमा सरुवा भएर गएका इन्स्पेक्टर कृष्ण अर्याललाई डिएसपीमा बढुवापछि पनि त्यहीं राखिएको छ। उनको पदस्थापन भने २६ नम्बर गणमा भएको थियो।  

नेपाल प्रहरीमा पनि उस्तै  

गत असार २९ मा निस्किएको प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा सूची हेर्ने हो भने कार्यक्षेत्रमा बसेर चुनौती सामना गरेका अधिकृतलाई छुटाइएको छ। प्रधानमन्त्री देउवा र प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निजी अंगरक्षक (पिएसओ) ले बढुवा पाउँदा सो ब्याचमा व्यावसायिक प्रहरी भने बढुवा सूचीबाट हटाइए। देउवाका पिएसओ कोमल शाह र दाहालका पिएसओ नरेशराज सुवेदी सो ब्याचको दोस्रो र तेस्रो वरीयतामा बढुवा भएका छन्। डिएसपीमा बढुवा हुँदा शाह यो व्याचको वरीयतामा २५औं नम्बरमा थिए भने सुवेदी चौथोमा।  

२०७१ सालमा डिएसपीमा बढुवा हुँदा यो ब्याचबाट पहिलो र दोस्रो नम्बरमा रहेका अपिलराज बोहरा र गौतमकुमार केसी बढुवामै नपरे पनि पिएसओ भने एक र दुई नम्बरमा बढुवा भए। शाह त डिएसपी छँदा शान्ति मिसन र रोल्पाको प्रहरी प्रमुख भएबाहेक लामो समय दाहालको निजी सुरक्षागार्ड मात्रै छन्। डिएसपीहरू बसुन्धरा खड्का, रवीन्द्रबहादुर सिंह, नरेन्द्र चन्द, कुमोध ढुंगेल, सुदीप पाठक बढुवामा छुटे। २०६१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ४ वर्षपछि नै खड्काले सोर्‍हखुट्टे प्रहरी प्रभाग (हाल वृत्त) को कमान्ड सम्हालेकी थिइन्। उनको भावी करियरलाई पछि पार्ने काम भएको छ।  

गत असार १९ गते सरकारले १७ एसएसपीलाई डिआइजीमा बढुवा गरेको सूची हेर्दा झन् राजनीतिक हस्तक्षेपको चरम रूप देख्न सकिन्छ। यो बढुवामा अशोक सिंहले छलाङ मारे। यसअघि सन्दीप भण्डारी, टेकप्रसाद राईकै ब्याचका भए पनि सिंह एसएसपीमा दुई वर्षपछि बढुवा भएका थिए। यो टोली १२ चैत २०५१ मा प्रहरी निरीक्षकमा भर्ना भएको हो। भण्डारी, राईसहित १३ जना वैशाख २०७५ मा एसएसपीमा बढुवा भएका थिए भने सिंहको वैशाख २०७७ मा बढुवा भएको थियो। २०७७ मा बढुवा हुँदा सिंह छैटौं नम्बरमा थिए भने उक्त ब्याचमेटमा १९ नम्बरमा थिए। तर डिआइजी बढुवामा तेस्रो नम्बरमा उक्लिएका छन् उनी। एसएसपीमा वसन्त कुँवरले पनि छलाङ मारेका छन्। त्यही व्याचका भण्डारी पछि धकेलिएका छन्।  

एसपीबाट एसएसपी बढुवाको सूचीमा झन् बालुवाटार हाबी भएको छ। एक वर्षअघि रौतहट प्रहरी प्रमुख छँदा एसपी सिद्धिविक्रम शाहले पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखिदिएर उनलाई फसाएको घटना सार्वजनिक भएको थियो। सो घटनाबारे छानबिन भए पनि प्रतिवेद गुपचुप राखिएको छ। उनी एक वर्ष नपुग्दै एसएसपी बढुवाको दोस्रो नम्बरमा परे। रसुवा प्रहरी प्रमुख छँदा रक्तचन्दन तस्करलाई सघाएको आरोप लागेका ओम रानामगर पनि बढुवमा परेका छन्। सञ्जीव शर्मा दास रामेछापमा छँदा नाबालिका सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनामा यथेष्ट प्रमाण हुँदाहुँदै अभियुक्तमाथि मुद्दा नचलाएर भगाएको आरोपमा निलम्बनमा परेका थिए। उनलाई विभागीय कारवाही भएको थियो। एसएसपी बढुवामा परेका दिलीपसिंह देउवाको ३ पुस २०६० मा २ ग्रेड २ वर्षका लागि रोकुवा भएको थियो। उनी पनि बढुवामा परे।

प्रकाशित: ९ श्रावण २०७९ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App