राजनीति

शेखर पक्षलाई किचकिच नगर्न देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आवश्यक परे पार्टी विधान संशोधन गरेर फेरि नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिने बताएका छन्। पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्न नसकेको भन्दै शेखर कोइराला पक्षले आलोचना गरिरहेका बेला देउवाले यस्तो बताएका हुन्। कांग्रेस विधानले निरन्तर दुई कार्यकालभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलसँग तालमेल गर्ने तयारीमा रहेका देउवा शेखर पक्षको आलोचनाबाट रुष्ट बनेका छन्। देउवाले कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याएर योग्य व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको तर गुटगत कुरा गरेर किचकिच नगर्न कोइराला पक्षलाई आग्रह गरेका छन्। ‘विधानले पनि दिँदैन, म अब फेरि सभापतिमा उठ्ने होइन भनिरहेको छु,’ बुधबार बसेको केन्द्रीय समिति बैठकमा देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मलाई धेरै नजिस्क्याउनुस् तपाईंहरू, राम्रो पार्टी बनाएर योग्य नेतालाई नेतृत्व छोड्न चाहन्छु। तर यस्तै गरिरहनुभयो भने विधान संशोधन गरेर फेरि पनि सभापति हुन सक्छु।’

देउवाले शेखर पक्षलाई लक्षित गर्दै भने, ‘मलाई धेरै नजिस्क्याउनुस्, यस्तै गरिरहनुभयो भने विधान संशोधन गरेर फेरि पनि सभापति हुन सक्छु।’

सभापति देउवाभन्दा अघि धारणा राखेका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर निर्वाचन जिते पनि पार्टीको सिद्धान्त र आदर्शले हारेको धारणा राखेका थिए। गौतम कोइरालानिकट केन्द्रीय सदस्य हुन्। उनले पार्टीभित्रको ४० प्रतिशत मतको नेतृत्व गरेको कोइराला पक्षलाई सभापति देउवाले बेवास्ता गरेको र पार्टी कार्यालयमा कार्यकक्षसमेत नदिएको भन्दै आलोचना गरेका थिए।  

कोइराला पक्षका नेताहरू प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनको विपक्षमा उभिएपछि देउवाले गौतमलाई तालमेल नगरी प्रतिनिधिसभा निर्वाचन जित्नुहुन्छ भन्ने प्रश्न गरेका थिए।  

बैठकमा अर्का केन्द्रीय सदस्य रामशरणम महतले पनि पार्टीको सांगठनिक अवस्था मजबुत भएकाबाहेक क्षेत्रमा मात्र चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका थिए। बैठकमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, एनपी साउदसहितले सरकारको काम थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए। विभिन्न तहको सुझाव लिने तर कार्यान्वयन नगर्ने परिपाटी बढ्दै गएको भन्दै उनीहरूले सरकारको काम जनहितमा केन्द्रित हुन्पर्ने बताएका थिए। केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले देउवा नेतृत्वमा सरकार गठन भएपछि जनहितमा काम भएको दाबी गर्दै यसमा पार्टी सदस्यहरूले गर्व गर्नुपर्ने धारणा राखेका थिए।

महामन्त्रीद्वयको आलोचना

कांग्रेस केन्द्रीय समितिको बुधबारको बैठकमा सदस्यहरूले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको तीव्र आलोचना गरेका छन्। पार्टी महामन्त्रीको जिम्मेवारीमा पुगे पनि मिडिया खपतका लागि मात्र बोलेको र संगठन सुदृढीकरणका विषयमा गम्भीर नबनेको आरोप सदस्यहरूले लगाए। महामन्त्री होटलहोटलमा गुटको भेला गर्दै हिँडेको भन्दै केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले तीव्र असन्तुष्टि पोखे। उनले गुटको भेला गर्दै हिँड्ने महामन्त्रीलाई पार्टीका नेता तथा कार्यकर्ताले जिल्लाजिल्लामा बहिष्कार गर्ने दिन आउन सक्ने चेतावनी दिए। बुढाथोकीले महामन्त्री शर्माले स्थानीय तह निर्वाचनमा उम्मेदवार परिवर्तन गर्दा झापामा पार्टी संगठन कमजोर भएको भन्दै उनलाई प्रतिनिधिसभा निर्वाचन जितेर आउन पनि चुनौती दिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

बैठकमा रमेश रिजाल, राजीव ढुंगाना, रामजनम चौधरीसहितले पार्टीको आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने महामन्त्रीहरू मिडिया तथा सोसल मिडियाको स्टन्टमा रमाएको आरोप लगाए। रिजालले महामन्त्रीहरू मिडिया केन्द्रित भएको र ट्विटमा रमाउने गरेको भन्दै अतिवादमा नजान आग्रह गरे। पार्टीमा सल्लाह नै नगरी महामन्त्रीहरूको धारणा आएको विषयमा मात्र होइन, उनीहरू निर्वाचन आयोगमा गएको विषयमा पनि सदस्यहरूले आलोचना गरे। स्थानीय तहको निर्वाचन समीक्षाका लागि सोमबारदेखि सुरु बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्नेछ।

प्रकाशित: ३० असार २०७९ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App