राजनीति

धनगढी उपमहानगरपालिकाः प्रत्येक वडामा विशेषज्ञ सेवासहित नि:शुल्क उपचार

धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले उपमहानगरपालिकाका १९ वटै वडामा बिशेषज्ञ चिकित्सक सहित निशुल्क उपचार प्रदान गर्न घुम्ती क्लिनक संचालन सुरु गर्ने भएका छन्। स्त्री रोग विशेषज्ञ, फिजिसियनसहितको चिकित्सकको टोलीले साउन १ गतेदेखि घुम्ती क्लिनिक गर्ने उनले बताए। 

अल्ट्रासाउण्ड, इसिजी लगायतको परीक्षणसहित विशेषज्ञ सेवा सर्वसधारणले गाउँमै पाउन सकुन् भनेर क्यालेण्डर बनाएर प्रत्येक वडामा घुम्ती क्लिनिक संचालन गरिने उनको भनाई छ। ‘गाउँका महिला तथा सर्वसधारणले कुखुरा बेचेर औषधि गर्न सदरमुकाम आउनुपर्ने अवस्था छ। कुखुरा नहुने अथवा पैसा जुटाउन नसक्नेले उपाचार गराउन नसकेर रोग च्यापेर बस्नु पर्ने अवस्था छ' उनले भने ,‘गाउँमै विशेषज्ञ सेवासहितको निशुल्क उपचार उपलब्ध गराउन सकेर जनतालाई स्थानीय सरकार भएको आभास गराउन सकियोस।',

मेयर हमालले औषधि पनि निशुल्क उपलब्ध गराउने योजना रहेको बताए। हाम्रो धनगढी हामी बनाउ भनेर सबैलाई धनगढी बनाउन हातेमालो गर्न पनि उनले आग्रह गरे। ‘नेपालमै धनगढीलाई नमुना बनाउन एक्लो उपमहानगरपालिकाको प्रयासले मात्र सम्भव नहुन सक्ने भएकाले सबैलाई जोडिन आग्रह गर्छु,’ उनले भने।

प्रत्येक वडामा विशेषज्ञसहितको नि:शुल्क उपचार सेवा उपलब्ध गराउन भाटभटेनी सुपर मार्केटले सहयोग गर्ने भएको छ। स्त्रीरोग विशेषज्ञ र फिजिसियन चिकित्सकको पारिश्रमिक ५ वर्षसम्म भाटभटेनीले बेहोर्ने गरि बुधबार धनगढी उपमहानगरपालिकाका मेयर हमाल र भाटभटेनी सुपर मार्केटका मिन बहादुर गुरुङबीच सम्झौता पनि भएको छ।

समाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ क्षेत्र लगायतका समाजिक काम गर्दै आएको उल्लेख गर्दै गुरुङले निशुल्क स्वास्थ्य उपचारका लागी धनगढी उपमहानगरपालिका सँग ५० वर्षसम्म मिलेर काम गर्न सक्ने बताए।

प्रकाशित: २५ जेष्ठ २०७९ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App