राजनीति

आकर्षक नारा, भड्किलो प्रचार

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका सबैजसो उम्मेदवारले आकर्षक नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। चुनावको रौनकसँगै भड्किलो प्रचारप्रसारमा पनि उनीहरू उत्तिकै सक्रिय छन्।

खाँडाचक्र नगरपालिकामा उम्मेदवारी दिएका एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गाडी र अटो रिक्सामा साउन्ड बक्स जडान गरी माइकिङ, चुनावी गीत र नारा घन्काउन थालेका छन्। पहिले निर्वाचित जनप्रतिनिधिले जनअपेक्षा पूरा गर्न नसकेकाले जनता भने आशावादी छैनन्।

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आकर्षक नारासहित क्षमताभन्दा माथिका घोषणा पत्र तयार गर्दै भोट बटुल्न घरघर पुगेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासमा पछि रहेका विकट क्षेत्रका बासिन्दालाई सबै सेवा निःशुल्क प्रदान गर्ने फर्जी आश्वासनका पोका लिएर उम्मेदवार घरदैलोमा गएको पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले बताए।

उनले कतिपय उम्मेदवार पैसाको बलमा चुनाव जित्ने दाउमा रहेको पनि सुनाए। उम्मेदवारका घोषणा पत्र र स्थानीय रूपमा गरेका बाचा मतदाताले पत्याएका छैनन्। ‘भन्न त सबैले पहिले पनि यो गर्छौं र ऊ गर्छौं भनेकै थिए’, खाँडाचक्र–११ का ज्ञानेन्द्रबहादुर शाहीले भने।

सदरमुकामको खाँडाचक्र नगरपालिकामा एमाले, कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, राप्रपा, चन्द समूहको स्वतन्त्र गरी ५ जनाको उम्मेदवारी छ भने उपप्रमुखमा ४ जना छन्। उनीहरू सबैले शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने महत्वाकांक्षी नारा र योजना अघि सार्दै भड्किलो प्रचार गरिरहेका छन्।

एमालेबाट ०७४ को चुनाव जित्नुभएका नगर प्रमुख जसीप्रसाद पाण्डे खाँडाचक्रमा दोहोरिएका छन्। संघीयतापछि नयाँ घोषणा भएको नगरपालिका भएकाले जग बनाए पनि काम पूरा गर्न नपाएकाले नगरबासीलाई पुनः अवसर दिन उनले आग्रह गरेका छन्।

‘सुन्दर र समृद्ध खाडाचक्र निर्माणको आधार, अधुरा काम पुरा गर्न एमालेकै सरकार’ नारासहित चुनावी अभियान तीव्र पारिएको उनले जानकारी दिए। नगरको प्रशासनिक भवनका लागि जग्गा व्यवस्थापन गरी टेन्डर भइसकेकाले सुविधासम्पन्न आधुनिक प्रशासनिक भवन र ११ वटै वडा कार्यालय निर्माण गर्ने उनले बताए।

त्यस्तै, चुलिमालिका–ढडार बृहत् खानेपानी आयोजना पूरा गर्ने, एक वर्षभित्रै एक घर एक धारा जडान गर्ने, डोजरबाट सडक खन्ने काम बन्द गर्नेलगायत एजेन्डा उनले अघि सारेका छन्। ५ वर्षमा नगरबासीका थुप्रै सपना भए पनि पूरा हुन नसकेकाले आफूले नगर प्रमुखमा उम्मेदवारी दिएको कांग्रेस नेतृ ताराकुमारी शाहले बताइन्।

‘खाडाचक्रलाई आधुनिक सहर र आत्मनिर्भर गाउँ बनाउन मेरो उम्मेदवारी हो’ गठबन्धनबाट उम्मेदवारी दिएकी उनले भनिन्, ‘समृद्ध, सुखी र सुन्दर खाँडाचक्र बनाउने मेरो सपना हुने छ।’ उनले आफू महिला भएकाले पनि नगरबासीको समावेशी आवाज बन्ने बताउँदै सबै खाले विभेद र हिंसामुक्त नगर बनाउन, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्न आफूले जित्नुपर्ने तर्क छ।

खाँडाचक्रमै एकीकृत समाजवादीको प्रदेश सदस्य भएर पनि गठबन्धनमा नपरेपछि स्वतन्त्र नगर प्रमुखको उम्मेदवारी दिएका कमलबहादुर शाही, राप्रपाका धर्मदत्त आचार्य र चन्द समूहका हस्त विश्वकर्माले पनि खाँडाचक्रको विकासका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरेका छन्।

रास्कोट नगरपालिका प्रमुखमा एमालेबाट उम्मेदवारी दिएका दयाराम सिम्खडाको तर्क छ, ‘डिजिटल रास्कोटको सपना बाँड्दै रास्कोटलाई भ्रष्टाचारशून्य बनाउन आफ्नो उम्मेदवारी भएको हो।’ उनले योजनामा बाँडीचुडी खाने प्रवृत्ति अन्त्य गर्न समुदायको संलग्नतामा उपभोक्ता समिति गठन र कामको जिम्मेवारी दिने बाचा गरे।

माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार धर्मराज शाहीले रास्कोट नगरले पहिले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै सान्नीगाड–रास्कोट सडक कालोपत्रे गर्ने, नगरमा स्कुल बस सञ्चालन गर्ने, फ्री वाइफाई जोन बनाउनेलगायत एजेन्डा छन्।

रास्कोटमा चन्द समूहबाट संविधानसभा–०६४ की सभासद् धीरेन्द्राकुमारी उपाध्याय, कांग्रेसका नवराज बराल, जनमोर्चाका पुष्पराज शाहीलगायतको उम्मेदवारी छ। रास्कोटमा पनि पहिलेको चुनावमा एमालेबाट नगर प्रमुख उठेर १ सय ५० मतान्तरले पराजित भएका मनीप्रसाद बराल माओवादी केन्द्रको गठबन्धनमा उपप्रमुखका उम्मेदवार रहेका छन्।

प्रकाशित: २५ वैशाख २०७९ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App