राजनीति

एमालेको घोषणापत्र विराटनगरलाई ‘स्मार्ट सिटी’ बनाउने

नेकपा एमाले विराटनगरलाई स्मार्ट सिटी बनाउने घोषणा पत्र सार्वजनिक गरेको छ। एमालेले सार्वजनिक गरेको १ सय बुँदे प्रतिबद्धताको २ नम्बर बुँदामा बृहत विराटनगरको गुरुयोजना बनाई व्यवस्थित, विकसित र वातावरणमैत्री स्मार्टसिटी बनाउने उल्लेख छ।  

एमालेले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। एमालेको प्रतिबद्धतापत्रमा विकासका अभियानहरुमा दिगो विकासको अवधारणा अनुरुप तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर सम्पन्न गर्ने उल्लेख छ। स्थानीय अर्थतन्त्रको विकास तथा उपलब्ध स्रोत साधनको सदुपयोग गरी सुशासन विकास कार्यक्रम अगाडि बढाउने जनाइएको छ। गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गरी न्याय र समानतासहितको समृद्ध महानगर निर्माण गर्ने बताइएको छ।

पछाडि पारिएका तथा सिमान्तकृत समुदायको विकास, सहभागिता तथा समावेशीकरणमा विशेष ध्यान दिने जनाइएको छ। प्रदेशको राजधानी विराटनगरमा प्रदेश सरकार र प्रदेश सभाका स्थायी भौतिक संरचना निर्माण गर्न आवश्यक पहल र सहजीकरण गर्ने, महानगरको सर्वाङगीण विकासका लागि एक स्वायत महानगर योजना आयोग बनाई त्यस अन्तर्गत नगरबासीको पहुँच हुने गरी योजना बैंक सञ्चालन गर्ने जनाइएको छ।

यस्तै सामुदायिक विद्यालयको पूर्वाधार विकास गरी गरिब तथा विपन्न वर्गका बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री उपलब्ध गराउने, निःशुल्क स्वास्थ्य परीक्षण सेवा, आधारभूत रुपमा औषधि उपलब्ध गराउने प्रतिबद्धता पत्रमा उल्लेख छ। यस्तै वातावरणमैत्री नगरबस सञ्चालन गर्ने, महानगरभित्रका भूमिहीन गरिब, र दलितलाई जमिनसहितको आवासको व्यवस्था गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ।

यस्तै एक घर एक रोजगारीको कार्यक्रम ल्याउने, महिला र युवाले साझेदारीमा व्यवसाय सञ्चालन गरेमा कर छुट दिनेलगायतका कार्यक्रम प्रतिबद्धतापत्रमा समावेश गरिएको छ।

प्रकाशित: १५ वैशाख २०७९ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App