राजनीति

काँग्रेसको दावीः एमाले सर्वोच्चको आदेशबाट जन्मिएको पार्टी हो

नेपाली काँग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सर्वोच्च अदालतको आदेशबाट जन्मेको दावी गरेको छ।

सत्तारुढ नेपाली काँग्रेसले आइतबार सार्वजनिक गरेको पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रमा प्रमुख प्रतिपक्ष दल एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको उल्लेख गरिएको हो। परमादेशमा सरकार बनेको भन्ने एमाले अध्यक्ष ओलीलाई सो पार्टी अदालतको आदेशबाट जन्मेको कुरा घोषणापत्रमार्फत् सम्झाउनु परेको पार्टीका महामन्त्री गगनकुमार थापाले बताए।

उनले भने, ‘नेकपा एमाले भन्ने पार्टी नै सर्वोच्च अदालतको आदेशबाट जन्मेको पार्टी हो। नेपाल कम्युनिष्ट पार्टी बनाएर नेकपा एमाले र माओवादी केन्द्र विर्सजन भएको थियो। त्यसपछि सम्मानित अदालतले नेकपा एमाले जन्माएको हो भन्ने कुरा हामीले सम्झाउनुपर्ने भएको छ।’

घोषणा पत्रमा केपी ओली नेतृत्वको नेकपाको सरकारले पाँच वर्षको समय खेर फालेको निष्कर्ष समेत निकालिएको छ। ओली नेतृत्वको सरकारले अधिनायकवाद र सर्वसत्तावादको सुत्रपात गरेको आरोप लगाइएको छ। तीन वटै तहको सरकार संचालन गर्ने अवसर पाएको सो सरकारले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको, संघीयताविरोधी गतिविधि गरेको, विभेदकारी नागरिकताको व्यवस्था गर्न खोजेको, सार्वजनिक सम्पत्तिमा लुट मच्चाएको आरोप लगाइएको छ।

काँग्रेसको घोषणा पत्रमा कोरोना महामारीमा समेत कमिशन र भ्रष्टाचार गरेर ओली नेतृत्वको तत्कालीन सरकारले जनतामाथिनै ज्यादति मच्याएको उल्लेख गरिएको छ। घोषणा पत्रमा समुन्नत नेपाल निर्माण गर्ने र त्यसका लागि स्थानीय सरकार सवल हुनुपर्ने भनिएको छ।

काँग्रेसले स्थानीय तहको जनप्रतिनिधिहरुलाई त्यहीको जनताको सेवकको रुपमा रहने गरी आवश्यक तालिमसहितको व्यवस्था गर्ने पनि जनाएको छ।

प्रकाशित: ११ वैशाख २०७९ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App