राजनीति

कर्णालीमा उम्मेदवार छान्नै सकस

तस्विरः कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका सुर्खेत र, दुल्लु नगरपालिकामा एमाले चुनाव गरेको उम्मेदवारको मत परिणाम। तस्विरः गोविन्द केसीरनागरिक

कर्णालीका प्रायः जिल्लामा गठबन्धन बनाएर गएका दलहरु (कांग्रेस, माओवादी र समाजवादी) र एक्लै चुनावमा होमिएको नेकपा एमालेलाई  उम्मेदवार छान्नै सकस परेको छ।

गठबन्धनबाट जित्ने निश्चित भएका स्थानीय पालिकाहरुमा आकांक्षी बढी देखिएका हुन्। आकांक्षी बढी हुँदा उम्मेदवार छान्न पालिकामा रहेका पार्टी कमिटिहरुलाई हम्मेहम्मे परेको हो। जसका कारण कर्णालीका अधिकाँस ठाउँमा पालिकाले जिल्लामा उम्मेदवारको नाम सिफारिस गरेको छ।

कर्णालीको राजधानी वीरेन्द्रनगरमा पनि आकांक्षी बढी छन्। गठबन्धनबाट काँग्रेसको भागमा नगर पर्ने भएसंगै चर्चामा आएका सम्भावित उम्मेदवारहरुमा देवकुमार सुवेदी, विष्णु खड्का, नारायण कोईराला, उपेन्द्र खड्का, गोविन्द कोईरालाको नाम गठबन्धनबाट (काँग्रेस) चर्चामा छ।

पार्टीलाई वीरेन्द्रनगरमा उम्मेदवार छान्न निकै सकस हुने एक थरि नेताहरु बताउँछन्। नेकपा एमालेबाट वीरेन्द्रनगरमा नगर प्रमुखमा अमृत विसी, मोहनमाया ढकाल र कुलमणी देवकोटाको नाम चर्चामा छ। गुर्भाकोटमा काँग्रेस एकल चुनावमा लडे विगतको मत संख्याका आधारमा जित्ने देखिन्छ। हस्त पुन नै फेरी नगर प्रमुखमा दोहोरिने सम्भावना बढी छ। अधिकाँश ठाउँमा नयाँ मतदाताले प्रभाव पार्ने देखिएको छ। अन्य पालिकामा पार्टीभित्रबाटै घात नभए गठबन्धन कै पल्लाभारी हुने देखिन्छ।

दैलेखको नारायण नगरमा काँग्रेसबाट आकांक्षी बढी भएपछि १४ जनाका नाम नगर समितिले सिफारिस गरेर पठाएको छ। १४ जनामा वडाअध्यक्षदेखि यूवा नेताहरु समेत रहेका छन्। नारायण नगरपालिकामा निर्मला खड्का, बास्ना थापा, भुपेन्द्र शाही, टेकबहादुर कटुवाल, यामबहादुर मल्ल, खेमराज केसी, रेशम विक, गणेश प्रसाद उपाध्याय, बखत कटुवाल, पूर्णबहादुर मल्ल, गणेशकुमार श्रेष्ठ, मनोज कुमार थापा र प्रकाश न्यौपानेको काम नगर समितिले सिफारिस गरेको हो।

नारायणमै नेकपा एमालेबाट प्रेमबहादुर थापा, लोमन काफ्लेको नाम चर्चामा रहेको छ । नेकपा एकिकृत (समाजवादी) सावित्री मल्लको नाम नारायणमा चर्चामा रहेको छ। दैलेखको दुल्लुनगर पालिकामा नेकपा एमालले आकांक्षी नगर प्रमुख र उपप्रमुखका उम्मेदवारहरु भोटिङ्ग मार्फत छान्यो। ६ जना नगर प्रमुख र ७ जना उपप्रमुखको नगर कमिटिले चुनाव गराएर मंगलबार टुंगायो। नगर प्रमुखको उम्मेदवारमा सर्वाधिक मत ल्याएर यूवा नेता रुद्र शाही छानिए भने उपप्रमुखमा रेणु भटटराई छानिए।

काँग्रेसबाट भरत रिजाल र मात्रिका रिजालको नाम चर्चामा छ भने समाजवादीबाट बरुणनाथ योगीको चर्चा उत्तिकै छ। चामुण्डाविन्द्रासैनी नगरपालिकामा एमाले सर्वसहमति गरेर सुर्यबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने, गठबन्धनबाट उम्मेदवार टुंगो लागेको छैन्। दैलेखमा गठबन्धन गरेर जाने सहमति भएपनि कसले कुन पालिका र वडा लिने टुंगो लागेको छैन्। दैलेखमा एक मात्र वडा सदस्य जितेको माओवादीले ३ पालिका सहित वडाअध्यक्ष मागेकाले भागबण्डामा ढिलाई भएको काँग्रेसका एक नेताले बताए।

सल्यानमा काँग्रेस पार्टी सभापति केश बहादुर विष्टले एकलौटी पार्टी चलाउन खोजेको भन्दै बैंठकमै विवाद भएको छ। ४४ जनाको जिल्ला कार्य समिति रहेको सल्यान काँग्रेसमा अध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीसहित ३३ जना एक ठाउँमा उभिएका छन्। पार्टी सभापतिले जिल्ला सदस्य मनोनित गर्दा एकल तरिकाबाट मनोनित गरेपछि विवाद भएको थियो। त्यही विवाद चुनाव नजिकिदै गर्दा बैंठकमा कुरा निस्किएपछि चर्काचर्की भएको हो।

पार्टी सभापति विष्टले चुनावमा फेरी पुराना जनप्रतिनिधि दोहोराउने संकेत गरेपछि बहुमत सदस्यहरुले विरोध गरेका छन्। पार्टीको विधि,विधान र सिस्टम सभापतिले कुल्चेर एकलौटी रुपमा चल्न खोज्दा आफुहरुले फरक मत राखेको सचिव प्रकाश भण्डारीले बताए। सल्यानमा काँग्रेस नमिले अधिकाँस ठाउँमा बाँगी र अन्र्तघाट हुने काँग्रेस नेताहरु बताउँछन्।

थपिएका मतदाता निर्णयक 

सुर्खेतमा यसपाली नयाँ धेरै मतदाता थपिएका छन्। ५४ हजार ५७ जना नयाँ मतदाता थपिएका हुन्। जसमा गुर्भाकोट नगरपालिकामा ७ हजार ९ सय ९१ जना, चिगाड गाउँपालिकामा १ हजार ५ सय २ जना, पंचपुरी नगरपालिकामा ५ हजार २ सय ४५जना, बराहताल गाउँपालिकामा ३ हजार ५ सय ३९ जना, वीरेन्द्रनगर नगरपालिकामा १६ हजार ४ सय१६ जना, भेरीगंगा गाउँपालिकामा ८ हजार  १ सय ६२ जना, लेकबेंसी नगरपालिकामा ४ हजार ७ सय ७ जना, सिम्ता गाउँपालिकामा ३ हजार २ सय ९१ जना नयाँ मतदाता थपिएका हाे।

प्रकाशित: २९ चैत्र २०७८ १५:२२ मंगलबार

कर्णाली