गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको औंल्याएका छन्। मख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरुको खोजि गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताए।
शनिबार जनकपुर–पोखरा विमान सेवा सुरु भएपछि पहिलो उडानमा मधेस भ्रमणमा जनकपुर पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश–प्रदेशबीचको सम्बन्धलाई बलियो बनाउनु पर्ने आवश्यक्ता रहेको बताए।
मुख्यमन्त्री पोखरेलले पोखरा पर्यटकीय गन्तव्य रहेको र जनकपुर धार्मिक पर्यटकीय क्षेत्र भएकाले दुवै प्रदेशबीचमा पर्यटकीय विकास गरेर यसबाट लाभ लिन सक्ने बताए। उनले मधेस प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको अधिक सम्भावना रहेको बताए।
त्यसैगरी मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महताले दुवै प्रदेश बिचमा सहकार्यबाट पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने बताए। जनकपुर विमान स्थलमा मुख्यमन्त्री पोखरेललाई मधेस प्रदेशका पर्यटनमन्त्री महतो, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए।
प्रकाशित: २१ फाल्गुन २०७८ १०:३२ शनिबार