राजनीति

कांग्रेस जिल्ला अधिवेशन: दोश्रो चरणको निर्वाचनमा उम्मेदवारहरूबीच सहमति

नेपाली कांग्रेस महोत्तरीको दोश्रो चरणको निर्वाचनमा सहमति जुटेको छ। चुनावी प्रतिस्पर्धावाट पछाडि हटेर सहमति भएपछि नागेश्वर यादव सर्वसम्मत निर्वाचित हुने संकेत देखिएको छ।

पहिलो चरणको निर्वाचनको मत परिणामवाट बजरङ्ग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशिल यादव चुनावी मैदानमा थिए।

कुनै पनि उम्मेदवारले निर्वाचनमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोश्रो चरणको निर्वाचन तय भएको थियो।

दोश्रो चरणको निर्वाचनमा सुशिल यादव समूहले नागेश्वर यादवलाइ समर्थन गरेपछि निर्वाचनविना नै नागेश्वर यादव निर्वाचित भएको घोषणा गर्ने तयारी भइरहेको पूर्व जिल्ला सभपति महेन्द्र राय यादवले जानकारी दिए।

निर्वाचन अधिकृत इन्द्र अधिकारीले भने यो आधिकारिक नभएको बताएका छन्। ‘नेताहरुको अनुसार यस्तै सुनिएको छ म दुवै उम्मेदवारलाई भेट्न जाँदैछु हो रहेछ भने हामी सहमतिमा प्रकृयाअनुसार घोषणा गर्नेछौ।’ अधिकृत अधिकारीले भने।

दुवै उम्मेदवार देउवा पक्षधर निकट मानिन्छन। पौडेल पक्षधर बजरङ्ग नेपाली चुनावी प्रतिस्पर्धावाट बाहिरिएपछि डिजाइनमा नै नागेश्वरलाई समर्थन गरिएको केही नेताहरूको आरोप छ।

तीन जना उम्मेदवार मध्य पहिलो चरणको मत परिणाममा नागेश्वर यादवले १०११, सुशिल यादवले ७७९ र बजरङ्ग नेपालीले ३०६ मत ल्याएका थिए।

तर, काङग्रेसभित्रका केही नेताहरुले भने नागेश्वर यादव निर्वाचित भएको घोषणा मात्र  गर्न बाँकी रहेको दाबी गरेका छन्।

प्रकाशित: २१ फाल्गुन २०७८ ०७:०९ शनिबार

नेपाली कांग्रेस