राजनीति

उत्तरी गोरखामा उद्धार उडान सहज बनाउन गृहमन्त्रीसँग माग

उत्तरी गोरखाको समस्या लिएर गृहमन्त्री भेट्न पुगेको नेपाली कांग्रेस गोरखाको टोली।

उत्तरी गोरखामा हेलिकप्पटर उद्धार सहज बनाइदिन माग गर्दै नेपाली कांग्रेस गोरखाले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ। आइतबार जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापन पत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारीको सिफारिसमा हेलिकप्टर झिकाउने व्यवस्था मिलाइदिन माग गरेका हुन्।  

‘सम्बन्धित गाउँपालिका अध्यक्ष वा वडा अध्यक्षको लिखित या मौखिक अनुरोधमा प्रजिअले हेलिकप्टर उद्धारका लागि पठाउने व्यवस्था हुनुपर्छ’, सभापति न्यौपानेले भने। अहिले उत्तरी गोरखाबाट घाइतेको उद्धार, बिरामीको उपचारको प्रक्रिया निकै झन्झटिलो छ। कागजातको प्रक्रिया पूरा गर्दागर्दै उद्धार गर्न दुई दिनसम्म लाग्ने गरेको गुनासो स्थानीयले गर्दै आएका छन्।  

गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाको अधिकासं ठाउँमा अझै सडक सञ्जाल पुगेको छैन। पैदल यात्रा गर्दा सात दिनसम्म हिँड्नुपर्ने बाध्यता त्यहाँका स्थानीयलाई छ। औषधि उपचार, स्वास्थ्यकर्मी पर्याप्त छैनन्। ‘उपचार र उद्धारका लागि आफ्नै खर्चमा हेलिकप्टर झिकाउन पनि धेरै झन्झटिलो प्रक्रिया भयो’, सभापति न्यौपानेले भने, ‘समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको छ।’ स्थानीयले आफ्नो उपचारका लागि हेलिकप्टर सहजताका साथ प्रयोग गर्न पाउनुपर्ने उनले बताए।

गृहमन्त्रीको ध्यानाकर्षण गराउन कांग्रेस जिल्ला सभापति न्यौपाने, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल, नेपाली कांग्रेस चुमनुब्री गाउँपार्टी सभापति सुर्य गुरुङ, वडाध्यक्ष बिरबहादुर लामा, लाक्पा रितार, खिमे लामा, नबिन गुरुङ लगायतको टोली पुगेको थियो।

जवाफमा गृहमन्त्री खाँणले उद्धारका लागि हेलिकप्टर सहज बनाउन सहजीकरण गर्ने आश्वासन दिए। कात्तिक ७ गते कांग्रेस जिल्ला कार्य समितिको बैठकले उत्तरी गोरखाको उद्धार उडान सहज बनाउन सरकारसँग माग गर्ने र ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।

प्रकाशित: २ माघ २०७८ ०९:४८ आइतबार