राजनीति

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेकी लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमवार कांग्रेस प्रवेश गरेकी हुन्।

गाउँपालिका महासंघको केन्द्रीय सदस्य समेत रहेकी गौतम एमाले भित्र प्रभावशाली नेतृका रुपमा स्थापित थिइन्। पछिल्लो समय उनले नेकपा(एकीकृत समाजवादी) रोजेको चर्चा थियो।

नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको वृहत आमसभा कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन कुमार थापाले गौतमसहित ४ सय ७५ जनालाई टिका र मालाले स्वागत गरे।

महामन्त्री थापासहित कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, संजय गौतम लगायतले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए। नेकपा एमाले, नेकपा माओवादी, नेकपा एस लगायतका ४ सय ७५ बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

प्रकाशित: १९ पुस २०७८ १४:०८ सोमबार

नेकपा एमाले