नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा(एमाले)मा हरेक दिन पहिरो गइरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा(एमाले)मा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताएका हुन्। एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरेपनि सो पार्टी अगाडि बढ्न नसक्ने उनले बताए। नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको दाबी गरे।
उनले कम्युनिष्ट आन्दोलनलाई सहि दिशामा अगाडि बढाउने कार्यभार नेकपा(एकीकृत समाजवादी)को रहेको जिकिर गरे।
उनले भने, ‘अहिले जुन पार्टी हो नेकपा(एमाले) त्यो पनि सग्लो रहेन। र, अहिले विभिन्न ठाउँहरुमा त्यो पार्टीलाई थाम्न मरिमरि कस्सेर लाग्या छन्। थामिनेवाला छैन। यो जुन दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेको पार्टी छ, अब त्यो पार्टीलाई जस्तासुकै मलजल गरेपनि त्यो अगाडि बढ्न सक्दैन। त्यो लगातार तल खस्दैछ। त्यो विखण्डन तर्फ जाँदैछ।’
उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा आफूले एमालेको नवौँ महाधिवेशनमा अगाडि सारेको दाबी पनि गरे। ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पुरा गर्न सम्पूर्ण नेपाली जनता एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित: ८ पुस २०७८ १३:२० बिहीबार