राजनीति

कांग्रेस प्रदेश अधिवेशन: धनगढीमा चहलपहल, होटल भरिभराउ

नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले धनगढीमा चहलपहल बढेको छ। सुदूरपश्चिमका ९ वटै जिल्लाका कांग्रेसका प्रतिनिधि तथा नेता कार्यकर्ता आउँदा धनगढीमा चहलपहल बढेको छ। बाहिरबाट नेता कार्यकर्ता आउँदा धनगढीका होटलहरु पनि भरिभराउ भएका छन्।

प्रदेश अधिवेशनका लागि धनगढीमा ९ सय ८७ जना प्रतिनिधिहरु आएका छन्। त्यत्तिकै मात्रामा अन्य नेता तथा कार्यकर्ता पनि आएका छन्। नेता तथा कार्यकर्ताहरु आउँदा धनगढीका होटलहरु भरिभराउ भएको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए। उनले भने, ‘अहिले कांग्रेसको अधिवेशन चलिरहँदा धनगढीका सबै होटलहरु भरिभराउ भएका छन्।’

कोभिड–१९ पछि सुस्ताएको होटल व्यवसाय अहिले कांग्रेसको अधिवेशनले जुर्मुराएको छ। धनगढीका विभिन्न होटलमा कांग्रेसले ११ सय जनाको आवासका लागि कोठा बुकिङ गरेको बताउँदै उनले भने, ‘अहिले धनगढी बजार क्षेत्रका कुनै पनि होटल खाली छैनन्, सबै होटल ग्राहकले भरिभराउ भएका छन्।’  

कांग्रेसको अधिवेशनले होटल मात्रै नभई यहाँको बजार व्यवसाय पनि चलायमान भएको उनले बताए। ‘होटल मात्रै चलायमान नभएर यहाँका ईरिक्साका साथै चिया पसलदेखि कपडा पसलसम्मको व्यापार व्यवसाय फस्टाएको छ,’ उनले भने ,‘यसरी ठूला कार्यक्रम हुँदा होटल मात्रै नभएर सबैतिरको व्यापार व्यवसाय चलायमान हुन्छ।’

काम विशेषले धनगढी आउँदा होटलमा कोठा नपाएपछि बजारदेखि टाढा होमस्टेमा गएर बास बसेको बताउँदै कोहलपुरका देवेन्द्र आचार्यले भने, ‘धनगढीमा कांग्रेसको प्रदेश अधिवेशन रहेछ, त्यसैले बजारका होटलहरु सबै भरिभराउ हुँदा हिजो कोठा नै पाइएन।’ कोठा नपाउँदा आफू बजारदेखि पाँच किलोमिटर टाढा रहेको बंगरागाउँस्थित थारु होमस्टेमा पुगेको उनले बताए।

उनी मात्रै हैनन्, कांग्रेस प्रतिनिधिबाहेक आएका कार्यकर्ताहरुले पनि धनगढीका बजारका होटलमा कोठा पाउन सकेका छैनन्। ‘धनगढीमा होटलमा कोठा नपाएपछि आफन्तको घरमा बसेको छु,’ डोटीबाट आएका चक्र मल्लले भने, ‘पार्टीको निर्वाचनमा रमाइलो हेर्न आएको थिएँ, यहाँ त कोठै पाइएन, त्यसैले आफन्तकोमा गएको छु।’

अन्य समयको तुलनामा अहिले होटलमा व्यापार चलेको बताउँदै शिखर होटलका सञ्चालक तपेन्द्र बिष्टले भने, ‘अन्य समयको तुलनामा हिजोआज होटल चलेको छ।’ होटलमा गाउँका साथै पहाडबाट आएका कांग्रेस कार्यकर्ताले तीन दिनका लागि कोठा प्याक भएको उनले बताए। ‘अहिले सबै कोठा बुकिङ भइसकेका छन्,’ उनले भने, ‘तैपनि ग्राहकहरु कोठा खोज्दै आउँछन्, फर्काउनु परिरहेको छ।’

धनगढीमा भइरहेको कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा सहभागी हुन आएका ९ सय ८७ प्रतिनिधिका साथै अफिसियल र नेता तथा मन्त्रीहरुका लागि भनेर करिब ११ सय जनाका लागि होटलमा कोठा बुकिङ भएको १४ औँ महाधिवेशन प्रचारप्रसार समितिका कैलाली संयोजक नृप सुनारले बताए। उनले भने, ‘हामीले तीन दिनका लागि यहाँका होटलहरु बुकिङ गरेर प्रतिनिधिलाई आवासको व्यवस्था गरेका छौँ।’

प्रदेश अधिवेशनका लागि धनगढीमा ९ सय ४४ जना प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि तथा ४४ जना भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरेर ९ सय ८७ जना सहभागी भएका छन्। त्यत्तिकै मात्रामा अन्य नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति रहेको छ।

प्रकाशित: १६ मंसिर २०७८ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App