राजनीति

राप्रपा नफुट्ने गरी एकता महाधिवेशनः अध्यक्षत्रय

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिवद्धता जनाएका छन्।

अध्यक्षत्रय थापा, राणा र लोहनीले पार्टीको वृहत्तर हितका लागि आफूहरु त्याग गर्न पनि तयार रहेको बताएका हुन्। बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी एकताको महाधिवेशनमा बोल्दै अध्यक्ष थापाले महाधिवेशनबाट पार्टीलाई एकतावद्ध बनाउने प्रतिज्ञा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे। उनले नेतृत्व चयन सकेसम्म सर्वसम्मत हुने, नभए लोकतान्त्रिक विधि र प्रक्रियालाई मानेर अघि बढने स्पष्ट पारे। अध्यक्ष थापाले भने, ‘यथासम्भव सर्वसम्मतीको आधारमा नेतृत्व चयन गर्ने हामीले प्रयास गर्नु पर्दछ। कथमकदाचित सहमतीबाट हामीले नेतृत्व छनौट गर्न सकेनौ भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकतावद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा तपाई÷हामी सबैले गर्नु पर्दछ।’

अर्का अध्यक्ष राणाले पार्टी एकतामा खतरा उत्पन्न हुन नदिन आफूले अध्यक्षमा दावी नगर्ने निर्णय लिएको बताए। उनले अध्यक्षमा आफू विजय हुने भन्दा पनि पार्टीलाई एकतावद्ध बनाउने कुरालाई आफूले प्राथमिकता दिएको बताए। अध्यक्ष राणाले भने, ‘मैले अहिलेको अवस्थामा पार्टीको बृहत्तर हित र एकताका लागि आफ्नो दावी छोडनु पर्छ भन्ने टुंगोमा पुगेँ। त्यो टुंगोमा पुग्दा धेरै साथीहरुले अत्यन्त चित्त दुखाए। तर मैले आफू विजयी हुनेभन्दा पनि पार्टीलाई एकतावद्ध राखेर अघि बढनुपर्ने अवस्थालाई प्राथमिकता दिएर आफूले अध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हुँ।’

पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूले नयाँ नेतृत्वको चयन गर्नुपर्ने प्रस्ताव अघि सारेको अध्यक्ष डा. लोहनीले बताए। डा. लोहनीले अध्यक्षमा राजेन्द्र लिङदेनलाई समर्थन गर्ने घोषणा यसअघि नै गरिसकेका छन्। पार्टीमा नयाँ युगको सुरुवात महाधिवेशनले गर्ने भन्दै लोहनीले पार्टी फुट्लाकी भनेर चिन्ता नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे। ‘तपाईहरुले पार्टी फुट्लाकी भन्ने चिन्ता नगर्नुस्, पार्टीमा फुट हुँदैन। अब पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प छैन। त्यही काममा हामी लाग्नेछौं। नेतालाई सम्मान, कार्यकर्तालाई माया गरेर मात्रै पार्टीले मुलुकलाई निकास दिन सक्नेछ,’ उनले भने।

प्रकाशित: १५ मंसिर २०७८ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App