राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचन कार्य तालिका स्वीकृत

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि  निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ। आयोगको मङ्सिर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ १७ गतेका लागि घोषणा गरिसकेको छ। निर्वाचनलाई अघि बढाउने सन्दर्भमा आयोगले आवश्यक निर्देशिका र कार्यविधिको कामसमेत अघि बढाएको छ। केही समयपछि आयोगले निर्वाचन कार्यक्रमसमेत प्रकाशित गर्ने जनाएको छ।

उन्नानसाठी सदस्यीय राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ। कार्यकाल समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, कोमल वली, खीमबहादुर विक, चक्रप्रसाद स्नेही, चन्द्रबहादुर खड्का, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रामलखन चमार, शशीकला दाहाल, शान्तीकुमारी अधिकारी, शेरबहादुर कुँवर र सुमनराज प्याकुरेल रहेका छन्।

सरकारको सिफारिसबाट विज्ञका रुपमा मनोनित सदस्य रामनारायण विडारीको पनि चार बर्षे कार्यकाल फागुन २० गते नै पूरा हुँदैछ। राष्ट्रियसभा सदस्यको कार्यकाल छ वर्ष भए पनि २०७४ सालमा पहिलो पटक गोला प्रथाद्वारा दुई,  चार र छ वर्षका लागि कार्यकाल निर्धारण गरिएको थियो। आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पाँच करोड ८४ लाख रुपैयाँको प्रारम्भिक खर्च अनुमान गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाताका रुपमा मुलुकका ७५३ पालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य रहेका छन्। राष्ट्रियसभा चुनावमा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ कायम हुने व्यवस्था गरिएको छ।

प्रकाशित: १२ मंसिर २०७८ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App