राजनीति

गठबन्धनका निम्ति माओवादीले राष्ट्रियतामा सम्झौता गर्दैनः श्रेष्ठ

पोखरामा शनिबार बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ। तस्बिरः उमेश पुन/नागरिक

नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पाँचदलीय गठबन्धनका लागि राष्ट्रियताको मुद्दामा सम्झौता नगर्ने बताएका छन्।

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको दोश्रो अधिवेशनको उद्घाटनमा शनिबार बोल्दै श्रेष्ठले गठबन्धनमा भएका दलहरु यथास्थितिमै एमसिसी पास हुनुपर्छ भनेर लागेको खण्डमा गठबन्धनका लागि भनेर माओवादी केन्द्रले राष्ट्रियताको मुद्दामा सम्झौता नगर्ने बताए।

‘एमसिसीलाई देखाएर गठबन्धन भत्काउने प्रयास भइरहेको छ,’ उनले भने, ‘मुख्य कुरा गठबन्धन हो, तर, त्यसो भन्दैमा गठबन्धन भत्काएर भएपनि कांग्रेस एमसिसीको पक्षमा उभिने अवस्था आयो भने माओवादीले गठबन्धनका निम्ति भनेर राष्ट्रियतामा सम्झौता गर्दैन, एमसिसीको पक्षमा लाग्दैन।’

नेता श्रेष्ठले एमसिसीलाई देखाएर पाँचदलीय गठबन्धन भत्काउने प्रयास भइरहेको बताए। तर यो गठबन्धन चुनाव सम्पन्न गर्ने विन्दुसम्म कायम रहने उनले बताए। उनले माओवादी केन्द्रले एमसिसी यथास्थितिमा पास नगर्ने र गर्न पनि नदिने बताए। ‘एमसिसीलाई प्रयोग गरेर गठबन्धन भत्काउने प्रयास भइरहेको देखिन्छ। हाम्रो पार्टीले यथास्थितिमा एमसिसी अनुमोदन गर्दैन। नेपालीले यसलाई यथास्थितिमा अनुमोदन गर्नै हुँदैन भन्ने माओवादी केन्द्रको धारणा हो,’ उनले भने।

तर, यसको अर्थ विदेशी सहयोग लिनै हुँदैन भन्ने पक्षमा माओवादी केन्द्र नरहेको उनले प्रष्ट्याए । ‘नेपालको सार्वभौमिकता र स्वाधिनताको विरुद्ध रहेका प्रावधानलाई सच्याउने हो भने हामीलाई सहयोग चाहिन्छ। हामी सहयोग लिन्छौं,’ उनले भने। उनले अमेरिकाले नेपाललाई स्वच्छ मनले सहयोग दिन चाहेको भए विवादित बुँदा सच्याउन तयार हुनुपर्ने भएपनि त्यसलाई सच्याउन नमानेको बताए।

उनले अमेरिका मात्रै नभई नेपालका केही व्यक्तिहरु पनि ती बुँदाहरु नसच्याई यथास्थितिमै एमसिसी पारित गर्नुपर्छ भन्दै हिँडेको आरोप लगाए।

प्रकाशित: ११ मंसिर २०७८ ११:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App