राजनीति

अमेरिकाको सुरक्षा रणनीतिमा नेपाललाई फसाउन खोजियो : पाण्डे

नेकपा(एकीकृत समाजवादी)का नेता तथा बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले अमेरिकाको सुरक्षा रणनीतिमा नेपाललाई फसाउन खोजेको बताएका छन्। मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)को प्रावधान संशोधन नभई पास गर्न नसकिने उनको भनाइ छ।  

सूर्याेदय नगरपालिकामा शनिबार नेकपा (एस)को नगर पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले यसअघि (आफूहरू एमालेमै रहँदा) पूर्वप्रधानमन्त्री झलनाथ खनाल संयोजकत्वमा रहेको कार्यदलको सुझावअनुसार एमसिसीका प्रावधान संशोधन हुनुपर्ने बताए। ‘खनाल संयोजक रहेको कार्यदलले जे सुझाव दिएको छ, त्यसअनुसार एमसिसीका प्रावधान संशोधन हुनुपर्छ,’ उनले भने, ‘अहिलेको हाम्रो स्पष्ट धारणा नै संशोधनबिना एमसिसी पास गर्न सकिँदैन भन्ने हो।’  

पाण्डेले गठबन्धनका अन्य दलहरूसहितको सहभागितामा यही असोज ५ देखि ६ भित्रमा सरकार विस्तार हुने पनि बताए। ‘प्रदेश नम्बर १ र बागमती प्रदेश सरकारको नेतृत्व पनि अब हामीले नै गर्दैछौं,’ पाण्डेले भने, ‘सम्भवतः आउँदो २२ गते प्रदेश १ को सरकार ढल्छ, २४ गतेदेखि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार पनि रहँदैन।’

पाण्डेले नेकपा (एमाले) विभाजन भएको नभई आफूहरूले विद्रोह गरेको दाबी गरे। कम्युनिस्ट पार्टीको रक्षाका लागि आफूहरू लडेको उनको भनाइ छ। ‘यो पार्टी विभाजन होइन, विद्रोह हो, उनले भने, ‘विद्रोहबाट जन्मेको शक्ति सुरुमा सानै हुन्छ तर उसको बाटो सही छ भने त्यही जायज हुन्छ।’

पाण्डेले छुट्टै पार्टी बनाउनु आफूहरूको रहर नभई बाध्यता भएको पनि बताए। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन सम्भव नदेखेको र सच्याउन जति कोसिस गरेपनि सम्भव नभएको उनले जनाए।

प्रकाशित: २ आश्विन २०७८ १४:०८ शनिबार

नेकपा(एकीकृत समाजवादी)