राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेश गरेका थिए।
त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदनसभासमक्ष पेश गरे। बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटालाई प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा र दृगनारयण पाण्डेयलाई राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मनोनयन गरेको छ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा उनीहरुको नाम मनोनयनका लागि गरेको प्रस्तावमा बैठकले सर्वसम्मतिले सहमति जनाएको थियो। राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते दिउँसो १ बजे बस्नेछ।
प्रकाशित: २१ असार २०७८ ०९:३५ सोमबार