राजनीति

एमालेलाई सुदृढ होइन कमजोर पार्ने खालका गम्भीर विरोधाभाषहरु देखिए: प्रदिप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकताका लागि आफूहरुको तर्फबाट हरसम्भव प्रयत्न गरिरहेको बताएका छन्। आइतबार बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ज्ञवालीले एमालेलाई सुदृढ गर्ने होइन थप कमजोर पार्ने खालका गम्भीर विरोधाभाषहरु देखिएकाे बताएका हुन्।

पार्टी नेतृत्वको तहबाट प्रयास गरे नेकपा एमालेको एकता अक्षुण राखेर मात्र लोकतन्त्र, संविधान र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिने उनको भनाई छ। एमाले कमजोर हुँदा यी सबै पक्षहरु संकटमा पर्ने उनको निष्कर्ष छ।  

राष्ट्रिय एकता र राष्ट्रियताको पनि रक्षा गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट जेठ २३ गते एउटा आह्वान पनि भएको र त्यसमै आधारित रहेर छलफलहरु पनि भएको उनले बताए।

'कतिपय नेताहरुको व्यवहार एकतासँग ठ्याम्मै मेल खाने खालका छैनन्,' उनले भने, 'एमालेलाई सुदृढ गर्ने होइन थप कमजोर पार्ने, एमालेलाई एकतावद्ध गर्ने होइन, एमालेलाई विभाजित गर्ने, एमालेको सरकारलाई कायम राख्ने होइन वर्तमान सरकारलाई जसरी पनि विस्थापित गर्ने र प्रतिपक्षहरुसँगको प्रतिस्पर्धामा एमालेलाई श्रेष्ठ बनाउने होइन कि प्रतिपक्षलाई काँधमा राखेर उनीहरुलाई श्रेष्ठ बनाउने खालका गम्भीर विरोधाभाषहरु देखिएका छन्।'

प्रकाशित: १३ असार २०७८ ०८:१४ आइतबार

नेकपा एमाले