राजनीति

प्रतिनिधिसभा विघटन : संविधान र लोकतन्त्रमाथिको कठोर प्रहार

खोटाङका पाँच राजनैतिक दलले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री नियुक्त गर्ने प्रकृयाका क्रममा बदनियतपूर्वक प्रतिनिधिसभाको विघटन गरी संविधान र लोकतन्त्रमाथि कठोर प्रहार गरिएको जनाएको छ।

जिल्लास्थित नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव समूह), जनता समाजवादी र नेकपा मालेले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनजस्तो प्रतिगामी कदमले निरंकुश सत्ता लम्ब्याउने कथित निर्वाचनको घोषणामार्फत् देशमा संकटको सृजना गरेको धारणा सार्वजनिक गरेका हुन्।

कोरोना महामारीको भयावह अवस्थामा जनतालाई स्वास्थ्य संकटबाट पार लगाउनुपर्ने र सिंगो राष्ट्रलाई एकतावद्द रुपमा अगाडि बढाउनुपर्नेमा प्रतिनिधिमूलक संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैरजिम्मेवार कार्य भएको विज्ञप्तिमा भनिएको छ । पाँच दलले प्रतिनिधिसभालाई रातारात विघटन गर्ने सो असंवैधानिक र अलोकतान्त्रिक स्वेच्छाचारी, निरंकुश, प्रतिगामी कार्यका बिरुद्ध एकतावद्द हुन सबै राजनैतिक पार्टीहरुलाई आव्हान गरेका छन््।  

पाँच दलले आफू सम्वद्ध जिल्लाका सबै कमिटिमा रहेका कार्यकर्ता र समर्थकलाई प्रतिगमनविरुद्ध संयुक्त रुपमा क्रियाशील हुन अपिल गरेका छन्। संयुक्त विज्ञाप्तीमा नेकपा मालेका पोलिटव्यूरो सदस्य केपी फुयाँल, नेकपा एमालेका अध्यक्ष बबी चाम्लिङ, नेपाली काँग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष पृथ्बी किराती र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंकबहादुर थापाले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १९ जेष्ठ २०७८ १२:१२ बुधबार

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६