राजनीति

सुदूरप्रदेश सभा एमाले संसदीय दलको प्रमुख सचेतकमा खड्का नियुक्त

प्रमुख सचेतक लालबहादुर खड्का ।

सुदूरपश्चिम प्रदेश सभा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकबाट तारालामा तामाङलाई पदमुक्त गरिएको छ । उनलाई पदमुक्त गरि लालबहादुर खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरिएको छ । संसदीय दलका नेता प्रकाश बहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई अन्य जिम्मेवारी दिन पदमुक्त गरिएको जानकारी सभामुखलाई गराएका छन् ।

यसैगरि लालबहादुर खड्कालाई प्रमुख सचेतक र दुर्गा कामीलाई सचेतकमा नियुक्त गरिएको उनले सभामुख थापालाई जानकारी गराएका छन् । तामाङलाई प्रदेश सरकारमा मन्त्री बनाउन प्रमुख सचेतक बदलिएको एक प्रदेश शभा सदस्यले बताएका छन् । एमाले स्थाई कमिटीको बैठकले माओवादी केन्द्रको नेतृत्वको सरकारबाट पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाउन निर्देशन दिएका बेला माधव पक्षका थप सासंद सरकारमा सहभागी हुन लागेको उनले बताए ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका २५ प्रदेश सभा सदस्य छन् । प्रदेश सभामा माधव पक्षको बहुमत रहेको छ । जेठ १० गते नेकपा एमाले स्थाई कमिटीको बैठकले प्रदेश सकारका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने र पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि सुदूरपश्चिम प्रदेशमा दुई पक्षबीच रस्साकस्सी चर्केको छ । माधव पक्षको बहुमत रहेको प्रदेश शभा संसदीय दलको जेठ १२ गतेको बैठकले स्थाई कमिटीको निर्णय विपरित सरकारको समर्थन कायम राख्ने र मन्त्रीहरु फिर्ता नभई सरकारमा प्रभावकारी भूमिका खेल्ने निर्णय गरेको थियो । 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले सरकारमा सहभागी तीन मन्त्रीलाई स्थाई कमिटीको निर्णय अवेज्ञा गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका थिए । मन्त्रीले स्पष्टीकरण पत्र नै अवैधानिक भएको भन्दै जवाफ फर्काएका छन् ।

प्रकाशित: १४ जेष्ठ २०७८ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App