राजनीति

महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौं : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई  सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा उनले नागरिकको जीवन बचाउनका लागि सरकार निरन्तर प्रयासरत रहेको बताए। ‘महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ’, प्रधानमन्त्री ओलीले  भने, ‘सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो।’

उनले नागरिककै जीवन रक्षाका लागि ३००/४०० रुपैयाँ पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई ५० हजार रुपैयाँ तिरेर ल्याइएको र खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन पाएको जानकारी दिए।  

प्रधानमन्त्री ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर  स्थापनाकालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र  स्वायत्त ढंगले काम गर्न दिनका लागि सरकार सदा सजग रहेको बताउँदै आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको जानकारी पनि दिए।

आयोगले सरकारलाई गरेको सिफारिसप्रति ध्यान दिइएको जनाउँदै उनले सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै आएको र दिगो विकासका लक्ष्यको घरेलुकरणका साथै कार्यान्वयनमा जोड दिएको स्पष्ट पारे।

सो अवसरमा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको रक्षाका लागि आयोगले सरकारलाई गरेका सिफारिशको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: १३ जेष्ठ २०७८ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App