राजनीति

प्रतिपक्षीले राष्ट्रपतिलाई तपाईंसम्म भनेनन् : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति सबैले सम्मान गर्न आग्रह गरेका छन्। पार्टीभित्रैका नेताहरु प्रतिक्रियावादीहरुसँग मिलेर अनुशासनहीन गतिविधिमा लागेको बताएका छन्।

आज बालुवाटारमा नेता वुद्धिबहादुर रायमाझीको प्रथम स्मृति सभामा ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक विमोचन गर्दै उनले राष्ट्रपतिप्रति भइरहेको टिकाटिप्पणीको खण्डन गरे।

उनले माओवादी र नेपाली काँग्रेसले देशलाई अराजकता र असभ्यतातर्फ लान खोजिरहेको बताउँदै भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताको औपचारिक वक्तव्य हेरेँ, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने शब्द रहेन।’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी, उनी भनी सम्बोधन गरेकोमा उनले रोष प्रकट गर्दै उनले थपे,‘ आज जनताका छोराछोरी सम्मानित पदमा पुगेका छन्, तिनलाई सम्मानसम्म गर्न सकेको छैन, असभ्य तरिकाले बोल्नु बहादुरी ठान्छन्।’  

उनले नेकपा माओवादीतर्फ इंगित गर्दै लोकतन्त्रलाई नमान्नेले नै लोकतन्त्रको वकालत गरेको पनि बताए। ‘जसले लोकतन्त्र मान्दैन, उनीहरु नै लोकतन्त्रका हिमायती भएका छन्।’

यस्तै उनले पार्टीभित्र विश्वासघातीहरु देखिएको पनि बताए। ‘उहिले अँग्रेजहरु आउँदा मात्र मिर्जाफोर मिर्जा काशिमहरु आएका थिएनन्, अहिले पनि कहिँकतै अन्तर्घाती अन्तध्र्वंसी, विश्वासघातीहरु छन्।  

प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको गुट नै पार्टी कमजोर हुनुको कारण भएको बताए। उनले पार्टीलाई एक गर्न खोज्दा पनि गुटको राजनीति गर्नेहरुले त्यसलाई नस्वीकारेको बताए। ‘अदालतलाई अपजस लगाइयो, अदालतभन्दा अघि पार्टी फुटाइसकेको थियो, अर्को नाममा दर्ता गर्न नगएर, दर्ता गर्ने कुरा सुन्नै नचाहेर, अंहकारमा डुबेर, प्रतिक्रियावादीसँग मिलेर पार्टी विरुद्ध गतिविधि गरे,’ उनको भनाइ छ, ‘हिजो जुन दलसँग प्रतिस्पर्धा गरियो, भोलि पनि गर्नुपर्छ, उही दलको नेतालाई प्रधानमन्त्री बनाएर, अनुशासन तोडे।’ 

नेकपा एमाले सबैको त्यागको सम्मान गर्ने बताउँदै त्यो त्यागलाई शिरमा राखेर काम गर्ने उनको भनाइ छ।

प्रकाशित: ८ जेष्ठ २०७८ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App