राजनीति

सरकारले ल्याएका कुरा अड्काउने मनसाय छैन, निष्पक्ष भएर अघि बढ्छु : सभामुख सापकोटा

फाइल तस्बिर।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई प्रभावकारी रुपमा सञ्चालनका लागि आफू निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्ने बताएका छन्। सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा सभामुख सापकोटाले सरकारका तर्फबाट संसद्मा आएका अध्यादेशलाई आफ्नो अड्काउने मनसाय नरहेको बताए।

‘सरकारले ल्याएका कुराहरू अड्काउनु पर्छ भन्ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन,’ उनले भने, ‘राजनीतिक दलहरूसँग कुराकानी गरिरहेको छु। म निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्छु।’

उनले प्रतिनिधिसभालाई प्रभावकारी रुपमा सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने बताए। आफूले छलफलका लागि ओलीसँग समय मागेको उनले बताए। सभामुख सापकोटा र प्रधानमन्त्री ओलीबीच सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेट भएको थियो। सोही भेटका क्रममा आफूले छलफलका लागि समय मागेको उनले बताए।

प्रधानमन्त्री आलीले सभामुख सापकोटाको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाउँदै आएका छन्। सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको ओलीको आरोप छ। केही दिनअघि ओलीले सभामुख सापकोटा ‘सेटिङमा चलेको’ आरोप समेत लगाएका थिए।

प्रकाशित: ९ चैत्र २०७७ ०९:४४ सोमबार

सभामुख सापकोटा प्रतिनिधिसभा